रोल्पा : परिवर्तन गाउँपालिका–२ राङ्सीमा आयोजना गरिएको चार दिने निःशुल्क स्वास्थ्य शिविरमा २५ सय बढीले सेवा लिएका छन् ।
परिवर्तन गाउँपालिका पुतलाचौरको समन्वय,परिवर्तन गाउँपालिका–२ राङ्सी वडा कार्यालय र जनसेवा नमूना मावि राङ्सीको व्यवस्थापक तथा कादुरी एग्रीकल्चरल एण्ड एसोशिएसन ब्रीटिस गोर्खाज नेपाल कास्की–१६ पोखराको आयोजना आयोजित निःशुल्क शिविरमा २ हजार ५ सय सय १७ जनाले सेवा लिएका हुन् ।
जनसेवा नमूना माविको प्राङ्गण परिवर्तन गाउँपालिका–२ राङ्सीमा शनिबारदेखि सुरू भएको शिविर मंगलबारसम्म संचालन भएको थियो ।
शिविरको पहिलो दिन शनिबारमा ५ सय ९ जना, दोस्रो दिन ६ सय २९ जना, तेस्रो दिन सोमबार ७ सय ७१ जना र चौथो दिन मंगलबार ६ सय ३८ जनाले सेवा लिएका कादुरी एग्रिकल्चरल एण्ड एसोशिएसन पोखराका वरिष्ठ कलक हमबहादुर रानाले जानकारी दिए ।
शिविरमा स्त्रीरोग सम्बन्धी जाँच तथा उपचार, आँखा जाँच तथा मोतीबिन्दु शल्यक्रिया,दाँतको उपचार तथा आवश्यकता अनुसार दाँत उखालि दिने,अन्य स्वास्थ्य जाँच तथा उपचार,आवश्यक अनुसार रगत, दिसा, पिसाबको परीक्षण, आवश्यक अनुसार मुटुको ई.सी.जी. तथा भिडियो एक्स–रे परीक्षण, चिकित्सकको सल्लाह बमोजिम निःशुल्क औषधी वितरण गरिएको थियो ।
निःशुल्क शिविर सोचेको भन्दा राम्रो भएको कादुरी एग्रिकल्चरल एण्ड एसोशिएसन पोखराका कार्यक्रम डाइरेक्टर क्याप्टेन राजन राईले प्रक्रिया दिए । यस्तै निःशुल्क स्वास्थ्य शिविर सफल भएको पहलकर्ता,समाजसेवी,निवेदक तथा जनसेवा नमूना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिजबहादुर विकले प्रतिक्रिया दिए । शिविरमा ८ सय जना पुरुष र १ हजार ७ सय १७ जनाले सेवा लिएका छन् ।