२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मजदुरमैत्री वातावरण बनाउन राज्य गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल

Nada
२०८२ वैशाख १८ गते ०८:३२
Shares
मजदुरमैत्री वातावरण बनाउन राज्य गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक दिवसले राज्य र रोजगारदातालाई मजदुरको पक्षमा काम गर्न र श्रमिक वर्गलाई एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले मे दिवसले सम्पूर्ण श्रमिकलाई पेसागत हक, हित र अधिकारका लागि सङ्गठित एवम् एकताबद्ध भई अघि बढ्न प्रेरणा मिलोस् भनी कामना गरे । 

ncell

अध्यक्ष दाहालले नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा २०७२ सालमा जारी सङ्घीय गणतान्त्रिक संविधानले प्रत्येक श्रमिकलाई श्रमअनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको उल्लेख गरे। उनले संविधानको व्यवस्थामा आधारित भएर श्रमिक वर्गको पक्षमा थुप्रै ऐन कानुनहरू बनेका भन्दै ती कानुन र संविधानप्रदत्त हक कार्यान्वयन भए मात्रै श्रमिक दिवस मनाउनुको सार्थकता हुने बताए ।

“नेपालमा श्रमजीवी जनताले आफ्नो अधिकारका निम्ति विभिन्न कालखण्डमा सशक्त र सशस्त्र सङ्घर्ष गरेर बलिदानका अनेकौँ कीर्तिमान कायम गरेका छन् । किसान, मजदुरसहित सबै उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायका जनताको सङ्घर्ष र बलिदानको कीर्तिमानकै कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । गणतान्त्रिक व्यवस्थामा श्रमिक वर्गलाई रोजगारी, सुरक्षा र सम्मानजस्ता आधारभूत पक्षमा राज्यले कुनै कमी हुन दिनु हुँदैन”, शुभकामना सन्देशमा भनिएको छ ।

अध्यक्ष दाहालले कार्यस्थलमा मर्यादित र मजदुरमैत्री वातावरण, समयमा पारिश्रमिक प्रदान गर्नुपर्ने विषयमा राज्यका निकाय गम्भीर बन्नुपर्ने आवश्यकतामा जोड दिए। सामाजिक सुरक्षा, बिमालगायत लोककल्याणकारी सेवाको नीतिगत व्यवस्थाका साथै कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ । “जसरी हिजोका दिनहरूमा समाज परिवर्तन गर्दै जनताको राज्यसत्ता प्राप्त गर्न निरन्तर सङ्घर्ष श्रमिक वर्गले गर्‍यो, जनताको बलबाट प्राप्त ती राजनीतिक परिवर्तन र उपलब्धिलाई बचाउन तथा सुदृढ गर्न श्रमिक वर्ग हमेसा सचेत रहन दिवसले प्रेरणा मिलोस् भनी कामना गर्दछु”, सन्देशमा भनिएको छ ।

ताजा खबर

सम्बन्धित खबर