सुशीला रेग्मी/मध्यान्ह
पाल्पा : पाल्पाको रामपुरमा संचालन भएको चौथो युथ युनियन कप २०७७ को उपाधि वालिङ एफ सीले हात पारेको छ । मटेरी युथ युनियन क्लब रामपुर पाल्पाको आयोजनामा संचालन भएको इलाभेन ए साइड खुल्ला पुरुष फुटवल प्रतियोगितामा रामपुर युनाइटेड र वालिङ एफसी बीच फाइनल खेल भएको थियो ।
निर्धारित समयमा गोल नभएपछि फाइनलको टुंगो पेनाल्टी सूटआउटबाट गरिएको थियो । पेनाल्टीमा रामपुर युनाइटेडले तीन गोल गर्दा वालिङले चार गोल थपेका थिए ।
पेनाल्टीबाट उपाधि जित्न सफल वालिङले एक लाख साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उपविजेता रामपुर युनाइटेडले पचास हजारमा चित्त बुझायो ।
फुटवल प्रतियोगितामा पाल्पा, स्याङ्गजा र तनहुँका गरी १२ टिमका सहभागिता रहेको थियो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै बधाई तथा शुभकामना दिएका छन् । खेलकुद क्षेत्रमा युवाको चासो बढेको बताउँदै नगरपालिकाले पनि यस्ता खेलकुदका कार्यक्रममा सहयोग गर्दै आइरहेको नगर प्रमुख थापाले जानकारी दिए ।
रामपुर नगर माविस्तरिय हाजिरीजवाफ प्रतियोगितामा प्रथम भुपु सैनिक बोर्डिङ्ग स्कुल, द्वितीय, सीताराम मावि र तृतीय रामतुलसी मावि भएको छ । प्रथम पुरस्कार दश हजार, द्वितीय पुरस्कार पाँच हजार, तृतीय पुरस्कार दुई हजार पाँच सय रहेको थियो ।
क्लबका अध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागी अतिथि, पूर्व खेलाडी, सहयोगीलाई मायाको चिनो प्रदान गरिएको छ ।
साथै संचार माध्यमबाट योगदान गर्ने पत्रकार सुशीला रेग्मी र प्रदीप पाण्डेयलाई सम्मान गरिएको थियो । खेल संयोजक साजन चन्दले धन्यवाद दिएको समापन कार्यक्रमको संचालन क्लबका सचिव दिपेन्द्रप्रसाद भट्टराईले गरेका थिए । क्लबका सल्लाहकार तथा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा गौतमले स्वागत गरेकी थिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies