अर्घाखाँची : जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईरालाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गरेर वैज्ञानिक र गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।
शिक्षा विकास समन्वय इकाई अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै कोईरालाले सामुदायिक विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नेतर्फ तीन तहका सरकारहरु समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले स्थानीय सरकारले प्राथमिकताका आधारमा शिक्षा क्षेत्रमा आवश्यक लगानी गरेर देशभित्र तथा जिल्लाभित्र स्वरोजगार बनाउने गरी दक्ष जनशक्ति उत्पादन गर्ने खालको शिक्षा उपलब्ध गराउन लागि परेको भएपनि सिमित श्रोत साधनले भनेजति काम गर्न कठिन भएको दाबी गरे ।
उनले भने, ‘बेरोजगार उत्पादन गर्ने शिक्षा भन्दा स्वरोजगारमुखी प्राविधिक जनशक्ति उत्पादन गर्ने शिक्षा प्रदान गर्नेतर्फ तीन तहका सरकार लाग्नुपर्छ ।’
कार्यक्रममा भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले प्रविधिमैत्री शिक्षा अहिलेको आवश्यकता भएको बताउँदै सबै जनप्रतिनिधि र कर्मचारीहरुका छोरा छोरी सरकारी विद्यालयमा भर्ना भएमा शिक्षाको गुणस्तरमा सुधार हुने उल्लेख्य गरे । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका पूर्व नगरप्रमुख कमलप्रसाद भुसालले शिक्षा क्षेत्रको सुधार नगरेसम्म समृद्धि र विकासको सपना पूरा हुन नसक्ने बताए ।
कार्यक्रममा पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले सामुदायिक विद्यालयको शिक्षा सुधारमा स्थानीय सरकार मात्रै लागेर सम्भव नहुने जिकिर गरे ।
कार्यक्रममा मालारानीका अध्यक्ष दलबहादुर भट्टराईले सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न स्थानीय नागरिक अभिभावक विद्यार्थी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले अर्घाखाँचीका सबै स्थानीय सरकारहरुले आफ्नो मातहतका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ध्यान दिएमा शिक्षाको गुणस्तर सुधार हुने बताए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख बिष्णु बेल्वासेले शिक्षा क्षेत्रमा राज्यको उल्लेखनीय लगानी भएपनि सोचे अनुसार परिणाम आउन नसक्नु दु:खद् भएको बताए ।