२०८२ वैशाख २४ गते बुधवार / May 07 , 2025 , Wednesday
२०८२ वैशाख २४ गते बुधवार
Ads

मौलिक थाली नाचलाई कतारमा फैलाउँदै यमुना

तिलु शर्मा पौडेल
२०८२ वैशाख २४ गते ०६:२०
मौलिक थाली नाचलाई कतारमा फैलाउँदै यमुना

दोहा, कतार : साढे ३ लाख नेपाली कार्यरत मध्यपूर्वको देश कतारमा हरेक शुक्रबार हुने सार्वजनिक बिदाका दिन नेपालीहरूले स्थापना गरेका संघसंस्थाहरूले कार्यक्रम आयोजना गर्ने गरेका छन् । 

नेपालीहरूले स्थापना गरेका संघसंस्थाहरूको संख्या १०० को हाराहारीमा छ । उक्त संस्थाहरूमध्ये कुनै न कुनै एक संस्थाले सार्वजनिक बिदाका दिनमा विभिन्न गतिविधिहरू समेटेर सांगीतिकसहितका कार्यक्रमहरू आयोजना गरेकै हुन्छ ।

यिनै कार्यक्रममा पछिल्ला केही वर्षदेखि थाली नाचले वाहवाही पाउने गरेको छ । कतारका स्टेजसम्म थाली नाच ल्याउने म्याग्दीको मालिका गाउँपालिका– ३ रुमकी यमुना पटेल हुन् । 

गाउँमा सानैदेखि नाच्ने गरे पनि कतार आएको केही समयपछि म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारमा आबद्ध भएसँगै उनले बाल्यकालमा नाच्ने गरेको नृत्यलाई स्टेजसम्म पुर्‍याएकी हुन् ।

साडी र गुन्यु–चोलीमा सजिएर स्टेजमा पटेलले हातमा थाल राखेर हत्केलाले घुमाईघुमाई नाच्दा हलमा उपस्थितले ती दृश्यलाई निकै चासोपूर्वक हेर्ने गरेको उनले मध्यान्ह दैनिकसँगको कुराकानीमा बताइन् ।

नेपालीबाहेक अन्य देशका नागरिकले समेत आफ्नो नाचलाई निकै चासो देखाएर हेर्ने गरेका र प्रसंशासमेत गर्ने गरेका उनी बताउँछिन् ।

कतारमा हुने विभिन्न कार्यक्रममा नृत्यका लागि निमन्त्रणा पाउने गरे पनि जागिरका कारण हरेक शुक्रबार समय मिलाउन असहज हुने तर आफूलाई निमन्त्रणा गर्ने आयोजकलाई आफूले निराश नबनाएको उनले स्मरण गरिन् ।

मौलिक नाचप्रति दर्शकको आरक्षण देखेर आफू दंग पर्ने गरेको उनी बताउँछिन् ।

विगत ३ वर्षदेखि कतारमा कार्यरत उनी कतारमा रहेको म्याग्देलीहरूको साझा संस्था मोना कतारको वर्तमान कार्यसमितिमा मालिका गाउँपालिका संयोजकसमेत रहेकी छन् । पटेलले मोना कतारको प्रतिनिधित्व गर्दै कतारमा दर्जनौं पटक फरक–फरक स्टेजमा आफ्नो कला देखाएकी छन् ।

दशक अगाडिसम्म तौल भएको चरेसको थाल नचाउने चलन भए पनि अहिले स्टीलको थाल नचाउने गरिन्छ । २००८ सालमा म्याग्दीको चिमखोलामा जन्मिएकी हिरामाया पुन श्रीसले सिर्जना गरेर प्रदर्शन गर्न थालेको ‘थाली नाच’ अहिले म्याग्दीभित्र मात्र नभएर देश तथा विदेशमा लोकप्रिय बन्दै गएको छ ।

२०२८ सालमा चिमखोलाकी हिरामाया पुनले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गरेकी थिइन् । सोही नाच २०४४ सालमा काठमाडौंमा भएको सार्क सम्मेलनमा प्रस्तुत भएपछि थाली नाचको राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर