२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

सामुदायिक वनको आम्दानीबाट विकास

सुर्य प्रसाद भुसाल
२०८२ वैशाख २५ गते २०:४४
सामुदायिक वनको आम्दानीबाट विकास

अर्घाखाँची : बिकट र छरिएर रहेको पातलो गाउँबस्तीमा विकासका सबै पूर्वाधार पुर्‍याउन तीनै तहका सरकारहरूलाई निकै कठिन परिरहेको छ । अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेका केही सामुदायिक वनहरूले भने सामुदायिक वनको काठ दाउरा बेचेर संकलन भएको वार्षिक आम्दानीले वार्षिक २५ करोडभन्दा बढीका योजना कार्यान्वयनमा ल्याई गाउँको विकासमा कोशेढुंगा साबित भएका छन् । 

वार्षिक स्वीकृत कार्ययोजनाअनुसार संकलन गरी काठ बिक्रीवितरण गरेपछि त्यसबाट आएको आम्दानीलाई पारदर्शिताको आधारमा सबै गाउँका उपभोक्ताहरू भेला भई आवश्यकताको आधारमा स्थानीय संघीय प्रदेश सरकारको झल्को दिनेगरी भेलाबाट योजना प्राथमिकताको आधारमा छनोटगरी गाउँको विकासमा सामुदायिक वनहरूले खर्च गर्ने गरेका छन् । भुगोलका हिसाबले सबैभन्दा ठूलो नगरपालिका भौगोलिक बिकटताका कारण अर्घाखाँचीको शितगंगा नगरपालिकाको गैडे पिरापानी, भंगला, पाभ्ररा, मौवाबारी, खयरभटीमा सरकारी निकायबाट विकास निर्माणका काम न्यून हुन्छन् । जहाँको विकास निर्माण सामुदायिक वनको आम्दानीबाट धेरै हुने गरेको स्थानीय उपभोक्ताहरू बताउँछन्  ।  

शितगंगाका यी ठाउँहरूमा झन्डै ८५० घरधुरी रहेको छ । गाउँमा पशुपालन, मोटरबाटो, खानेपानी, बिजुली, विद्यालय, कुलो, पाटीपौवा, मन्दिर निर्माण, आयआर्जनका सबै काम सरकारी बजेटबाट नभई सामुदायिक वनको आम्दानीबाट हुने गरेको गैडे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सीता बेल्वासेले बताइन् ।

अर्घाखाँची जिल्लामा  जिल्लाभर ७४ हजार ३० हेक्टर वन क्षेत्र रहेको डिभिजन वन कार्यलय अर्घाखाँचीको तथ्यांकमा उल्लेख छ । जसमा चार सय ३२ भन्दा बढी सामुदायिकहरू दर्ता छन् । जसअनुसार अहिले झन्डै ७५ वटा सामुदायिक वनको मात्रै वार्षिक आम्दानी झन्डै ४५ करोडको हाराहारीमा हुने गरेको छ । यी सामुदायिक वनहरूबाट वार्षिक झन्डै ७०/८० हजार क्युफिट काठ समूह बाहिर निकासी हुने गरेको छ । केही  सामुदायिक वनहरूले त वनको सदस्य बनेको स्थानीय नागरिकलाई गाउँमै कुनै व्यवसाय गर्न चाहेमा एक वर्षसम्मको लागि तीन प्रतिशत ब्याजमा ऋण दिने गरेका छन् ।

लुम्बिनी प्रदेशमा अहिले समृद्धिका लागि वन व्यवस्थापन कार्यक्रम लागू भएपछि अर्घाखाँची र कपिलवस्तुमा धेरै काठ उत्पादन भएको छ । अर्घाखाँचीको १३ नम्बरमा रहेको धिरीखोला सामुदायिक वनबाट यो कार्यक्र सुरु भएको हो । यो वर्ष अर्घाखाँचीका झन्डै दुई दर्जन सामुदायिक वनको २ हजार २१ हेक्टर क्षेत्रफलमा बिस्तार भएपछि काठ उत्पादनमा वृद्धि भएको स्थानीय उपभोक्ताहरू बताउँछन ।

जसमा वन संरक्षण चोरी निकासीको रेखदेख, मलजल, रुख हुर्काउने, डढेलो लाग्नबाट बचाउने सबै काम स्थानीय उपभोक्ताले गर्ने गरेका छन् । काठ दाउरा, सल्लाको खोटो, सालको पात, तेजपात, काफल, टिमुर, कुरिलो जस्ता वन पैदावार यहाँको आम्दानीका मुख्य स्रोत भएको पावरा सामुदायिक वनका अध्यक्ष वीरबहादुर खाम्चालिले बताए । 

‘सामुदायिक वनबाट निस्केको सालको पातबाट डिभिजन बन कार्यलयको सहयोगमा हामीले कम्पोस्ट मोल उत्पादन गर्न सुरु गरेका छौं यसबाट पनि राम्रो आम्दानी हुने अपेक्षा छ’, उनले भने । यता गैडे सामुदायिक वन उपभोक्ता समूहकी सचिव सिता बेल्वासेले भनिन्, ‘जंगलमा चितुवा, भालु, बँदेल, ढेडुवा लगायतका वन्यजन्तु छन्, मयुर, सुगा, कालिज, ढुकुर, काग, गिद्ध लगायतका थुप्रै चराचुरुङ्गी छन्, उनीहरूलाई पानी खान टाढा धाउन नपरोस् भनेर डिभिजन बन कार्यलय र समूहको लगानिमा वन भित्र २ वटा पानी  पोखरी बनाएका छौँ ।’

उनकाअनुसार आगलागी हुँदा पनि धेरै वनमा डढेलो फैलिन नपाओस् भनेर वनभित्र समुदायले फायरलाइन पनि बनाइएका छन् । समूहले अहिले डिभिजन वन कार्यालय राष्टपति चुरे समुहको लगानीमा ७८ मिटर पहिरो नियन्त्रण तथा काठ दाउरा राख्नका लागि घाटगद्दी स्थान समेत निर्माण गरेको सचिब बेल्वासेले बताईन । सामुदायिक वनमा काठ उत्पादन भएपनि अहिले काठको खरिद बिक्री भने निकै कम भएको नेपाल वन पैदावर उद्योग व्यवसायी संघका अध्यक्ष हिराबहादुर केसीले बताए ।

ADV

सम्बन्धित खबर