काठमाडौं : भारत र पाकिस्तानबीचको तनाव झनै चर्किएको छ । दुवै देशले आ–आफ्ना क्षेत्रहरूमा एकअर्काका ड्रोन र मिसाइल खसालेको दाबी गर्दै तीव्र जबाफी कारबाहीमा उत्रिएका छन् ।
‘अपरेसन सिन्दूर’अन्तर्गत भारतले पाकिस्तानविरुद्ध सुरु गरेको लडाइँमा पाकिस्तानको लाहोरस्थित हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारेको दाबी भारतले गरेको छ । यस्तै, पाकिस्तानले भारतका २५ ड्रोन खसालिएको जनाएको छ । भारतले पनि पाकिस्तानको उत्तर र पश्चिममा सैन्य लक्ष्यहरूमा मिसाइल र ड्रोनमार्फत आक्रमण गरेको बताएको छ ।
भारतको रक्षा मन्त्रालयले बिहीबार भारतले गरेको कारबाहीमा पाकिस्तानका सयौं हवाई प्रतिरक्षा राडार र प्रणालीलाई लक्षित गरिएको उल्लेख छ ।
भारतले थप विवरण दिँदै लाहोरसहित पाकिस्तानका विभिन्न स्थानमा रहेका एयर डिफेन्स राडार र प्रणालीहरूलाई लक्षित गरी कारबाही गरेको जनाएको हो ।
ड्रोन विस्फोट र आकाशीय आक्रमणको आशंकालाई लिएर लाहोरको मुख्य विमानस्थल आसपासका क्षेत्र खाली गरिएको छ ।
पाकिस्तानले भारतको उत्तरी र पश्चिमी क्षेत्रमा ड्रोन र मिसाइलमार्फत आक्रमण प्रयास गरेको थियो तर ती आक्रमणहरूलाई भारतको एकीकृत ड्रोन प्रतिकार प्रणाली र हवाई सुरक्षा प्रणालीमार्फत निष्क्रिय पारिएको जिकिर भारतको छ ।
भारतले तनाव बढाउने चाहना नराख्ने तर आवश्यक परेमा आफ्नो सुरक्षाका लागि दृढताका साथ प्रतिक्रिया जनाउने दोहो¥याएको छ ।
२५ ड्रोन खसाल्यौं : पाकिस्तान
पाकिस्तानी सेनाले भारतबाट पठाइएका २५ वटा इजरायली बनोटका ह्यारोप ड्रोन खसालेको दाबी गरेको छ ।
पाकिस्तानी सेनाको जनसम्पर्क विभाग आईएसपीआरले भनेको छ, ‘पाकिस्तानी सेनाले आफ्नो प्राविधिक र हतियारसहितको क्षमता प्रयोग गर्दै भारतबाट पठाइएका २५ वटा इजरायली बनोटका ह्यारोप ड्रोन खसालेका छन् ।’
पाकिस्तानको जबाफी आक्रमणले भारतका ५ वटा आधुनिक लडाकु विमान, धेरै ड्रोन र केही सैनिकहरू मारिएपछि भारत आतंकित बनेको पाकिस्तानी सेनाको दाबी छ ।
भारत प्रशासित कश्मीरमा पर्यटकमाथि आतंकवादी आक्रमण भएको २ सातापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा शृंखलाबद्ध हवाई हमला गरेको छ ।
भारतीय सेनाको हमलाबाट कम्तीमा ३१ जनाको मृत्यु भएको छ । लगत्तै पाकिस्तानी सेनाले गरेको गोलाबारीमा १५ जनाको मृत्यु भएको छ । त्यस्तै, भारतीय आक्रमणमा परी ५७ जना घाइते भएको पाकिस्तानी अधिकारीहरूले जनाएका छन् ।
यसबीच भारतका विदेशमन्त्री एस जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए कडा जबाफ दिइने चेतावनी दिएका छन् । उनले भने, ‘यो आक्रमणले हामीलाई सीमापार आक्रमण गर्न बाध्य बनायो ।’
भारतीय विदेशमन्त्रीले २२ अप्रिलमा पहलगाम आक्रमणपछि भारतले आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गर्दै सीमापार आक्रमण गरेको जानकारी दिए ।
जयशंकरले भने, ‘हामी तनाव बढाउन चाहँदैनौं तर हामीविरुद्ध सैन्य कारबाही गरियो भने कडा प्रतिक्रिया दिनेछौं भन्नेमा कुनै शंका छैन ।’
भारतले पाकिस्तानी सेना र सर्वसाधारण कसैलाई निशाना नबनाई आतंकवादीले प्रयोग गर्ने संरचनामा मात्र प्रहार गरेको जनाएको छ ।
भारतीय आक्रमणपछि २ पक्षबीच गोली हानाहानका खबर आइरहेका छन् । धेरै ठाउँमा आक्रमण–प्रत्याक्रमण भइरहेको बताइन्छ ।
यसबीच संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, रुस, फ्रान्सलगायत धेरै देशले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका छन् । युद्ध नभएका बेला भारतले पाकिस्तानमाथि गरेको सबभन्दा ठूलो हमला भएकाले पूर्ण युद्ध सुरु हुन सक्ने खतरा महसुस गरेर उनीहरूले यस्तो आग्रह गरेका हुन् ।
यसअघि सन् २०१६ मा कश्मीरको उरीस्थित सैनिक क्याम्पमा भएको आतंकवादी हमलामा १९ जना भारतीय सैनिकको ज्यान गएपछि भारतले सर्जिकल स्ट्राइक भन्दै पाकिस्तान नियन्त्रित कश्मीरमा रहेका आतंकवादी शिविरमा प्रहार गरेको थियो ।
त्यस्तै, सन् २०१९ मा पुलवामामा भएको आतंकवादी हमलामा ४० जना भारतीय अर्धसैनिकको ज्यान गएपछि भारतले बालाकोटमा हमला गरेको थियो । बालाकोट पाकिस्तान नियन्त्रित कश्मीरभन्दा बाहिर पर्छ ।
यस पटक भारतले पाकिस्तानको मुटु मानिने पञ्जाब प्रान्तका ४ ठाउँमा आक्रमण गरेको छ । त्यसबाहेक पाकिस्तान नियन्त्रित कश्मीरका ५ ठाउँमा प्रहार गरेको छ । पाकिस्तानले पनि २४ वटा भारतीय हतियार प्रहार गरिएको पुष्टि गरेको छ ।
यस पटक भारतले लडाकु विमान सीमापारि नपठाएर आफ्नै भूमिबाट अचुक निशाना लाग्ने हतियार प्रयोग गरेको छ । नौसेनाले पनि लामो दुरीका हतियार प्रहार गरेको छ ।