
काठमाडौं : शिक्षा क्षेत्रमा लगानी वृद्धि, महँगी नियन्त्रण, सरकारी खर्च कटौतीको विरोध र अनिवार्य सैन्य सेवाको व्यवस्था खारेज गर्न माग गर्दै जर्मनीका विभिन्न सहरमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेको छ । शनिबार देशका ३४ सहरमा आयोजित प्रदर्शनका क्रममा हजारौं युवा सडकमा उत्रिएका थिए । दिनभर शान्तिपूर्ण देखिएको प्रदर्शन राति पर्दै जाँदा हिंसात्मक बनेको हो ।
जर्मनीको आर्थिक केन्द्र मानिने फ्र्यांकफर्टमा प्रदर्शनकारीले पसलहरूमा तोडफोड तथा लुटपाट गरेका छन् । केही पसलका सिसा फुटाइएको छ भने आपत्कालीन सेवामा खटिएका सुरक्षाकर्मीमाथि पेट्रोल बमसमेत प्रहार गरिएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले सहरको मुख्य व्यापारिक क्षेत्र बन्द गराएको थियो । घटनामा संलग्न भएको आरोपमा धेरैलाई पक्राउ गरिएको छ ।
फ्र्यांकफर्ट प्रहरीले सामाजिक सञ्जाल एक्समार्फत सहरको केन्द्रमा हिंसात्मक गतिविधि जारी रहेको जानकारी दिँदै सर्वसाधारणलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको थियो । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीलाई लक्षित गर्दै पटाका, ढुंगा र बोतलसमेत प्रहार गरेका थिए । प्रहरीले भिड नियन्त्रण गर्न पानीको फोहोरा प्रयोग गरेको छ ।
प्रदर्शनका क्रममा हतियार पसलका सिसासमेत फुटाइएको थियो । प्रहरीले एक जना संदिग्धलाई पक्राउ गरी दुई थान हतियार नियन्त्रणमा लिएको जनाएको छ । फ्र्यांकफर्टबाहेक बर्लिन, कोलोन र ह्याम्बर्गमा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप तथा तोडफोडका घटना भएका छन् । ह्याम्बर्गमा केही अवरोध तथा बारहरूमा आगजनी गरिएको थियो ।
‘जेनजी रेगेल्ट’ अर्थात् ‘जेनजीले जिम्मेवारी लिन्छ’ नामक अभियान समूहले प्रदर्शन आयोजना गरेको हो । आयोजकले बर्लिन, फ्र्यांकफर्ट र म्युनिखसहित ३४ सहरमा प्रदर्शन गर्ने घोषणा गरेका थिए । उनीहरूले शिक्षामा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, स्वास्थ्य प्रणाली सुधार गर्नुपर्ने, बढ्दो महँगी नियन्त्रण गर्नुपर्ने र अनिवार्य सैन्य सेवा लागू गर्ने योजनाको विरोध गरेका छन् ।
प्रदर्शनकारीले सरकारको खर्च कटौती नीतिप्रति पनि असन्तुष्टि जनाएका छन् । जर्मनीको अर्थतन्त्र कमजोर बन्दै गएको, सार्वजनिक सेवा तथा पेन्सन प्रणालीमाथि दबाब बढेको र युवा पुस्ताले जीवनयापनमा कठिनाइ भोग्नुपरेको उनीहरूको भनाइ छ ।
बर्लिनमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै अभियानकी प्रवक्ता लिना फ्रेडरिकले आफूहरू युद्ध र जबरजस्तीको पक्षमा नभई शान्ति र स्वतन्त्रताका लागि सडकमा उत्रिएको बताइन् । स्वास्थ्य र शिक्षा क्षेत्रमा राज्यको लगानी बढाउनुपर्ने तथा समाजमा आर्थिक भारको न्यायोचित वितरण हुनुपर्ने उनको माग थियो ।
म्युनिखमा प्रदर्शनमा सहभागी हुने तयारीमा रहेका १८ वर्षीय विद्यार्थी स्टिभले सरकारले युवाका समस्यालाई बेवास्ता गरिरहेको आरोप लगाए । उनले सरकारको खर्च कटौती र युवा पुस्तामाथि थप आर्थिक भार थोपर्ने नीतिको विरोध गर्दै माग सम्बोधन नभएसम्म शान्तिपूर्ण भेला हुने अधिकार प्रयोग गरिरहने बताएका छन् ।
जर्मनीको हेस्से राज्यका गृहमन्त्री रोमन पोसेकले फ्र्यांकफर्टको प्रदर्शनमा करिब एक सय जना वामपन्थी अतिवादी घुसपैठ गरेको आरोप लगाएका छन् । प्रदर्शनमा सहभागी सबै युवा हिंसामा संलग्न नभएको उल्लेख गर्दै उनले अतिवादी समूहले आन्दोलनलाई हिंसात्मक दिशातर्फ धकेलेको बताएका छन् । फ्रान्समा भएका लुटपाट, आगजनी र प्रहरीमाथिका आक्रमणलाई उदाहरणका रूपमा लिन नहुने उनको भनाइ छ ।
जर्मन अधिकारीहरूले अतिवादी समूहले युवाको आन्दोलनलाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्न सक्ने चेतावनीसमेत दिएका छन् । प्रदर्शनअघि सम्भावित हिंसालाई ध्यानमा राख्दै बर्लिनको प्रसिद्ध कुर्फुर्स्टेन्डाम किनमेल क्षेत्रमा समेत केही व्यवसायीले पसलका सिसा सुरक्षित बनाएका थिए भने कतिपयले समयअगावै पसल बन्द गर्ने तयारी गरेका थिए ।
आयोजकले सुरुमा देशभर एक लाख ८२ हजार सहभागी हुने अनुमान गरेका थिए । तर प्रहरीका अनुसार फ्र्यांकफर्ट, म्युनिख र बर्लिनमा मात्रै करिब १८ हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए । यो आयोजकको अनुमानभन्दा निकै कम हो ।
यद्यपि, जर्मनीको राष्ट्रिय विद्यालय विद्यार्थी संगठन (बिएसके)ले भने उक्त अभियानबाट आफूलाई अलग राखेको छ । संगठनले आगामी नोभेम्बर २० मा छुट्टै विरोध प्रदर्शन गर्ने तयारी गरेको छ ।
जर्मनीमा भएको प्रदर्शन युरोपका विभिन्न देशमा देखिएको जेनजी नेतृत्वको आन्दोलनकै निरन्तरता मानिएको छ । यसअघि सर्बियामा विद्यार्थी नेतृत्वको आन्दोलनले लामो समयदेखि सत्तामा रहेको नेतृत्वलाई निर्वाचनमार्फत विस्थापित गर्न भूमिका खेलेको थियो । फ्रान्समा भने युवाको प्रदर्शनले हिंसात्मक रूप लिँदा शनिबार मात्रै तीन लाख २० हजारभन्दा बढी मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
युरोपको सबैभन्दा ठुलो अर्थतन्त्र जर्मनीमा आर्थिक वृद्धि सुस्त हुनु, जीवनयापनको लागत बढ्नु र सार्वजनिक सेवामा दबाब पर्नुले युवा पुस्तामा असन्तुष्टि बढाएको छ । यही असन्तुष्टि अहिले सडक प्रदर्शनका रूपमा देखिन थालेको छ ।