२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

लुलासँग हारेका बोल्सोनारोलाई ट्रम्पको साथ, सुटुक्क पुगे अमेरिका

Nada
२०८३ कार्तिक ११ गते १२:५५
Shares
लुलासँग हारेका बोल्सोनारोलाई ट्रम्पको साथ, सुटुक्क पुगे अमेरिका

काठमाडौं : ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित भएको दुई दिन नबित्दै दक्षिणपन्थी नेता फ्लाभियो बोल्सोनारो अमेरिका पुगेका छन् । ब्राजिलको सर्वोच्च अदालतले राहदानी बुझाउन आदेश दिएको र उनीमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान चलिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उनलाई र उनको परिवारलाई भिसा दिने घोषणा गरेको छ । यो घटनाले दुई देशबीचको राजनीतिक सम्बन्धमा नयाँ तरंग ल्याएको छ ।

अक्टोबर २५ मा भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले बोल्सोनारोलाई चार लाख होइन, ४० लाखभन्दा बढी मतको अन्तरले पराजित गरे । लुलाले ६ करोड ४० लाखभन्दा बढी मत पाउँदा बोल्सोनारोले ६ करोडभन्दा कम मत प्राप्त गरे । यससँगै लुलाले राष्ट्रपतिमा अर्को कार्यकाल सुनिश्चित गरे । तर, बोल्सोनारोले हार स्वीकार गर्न मानेनन् । उनले निर्वाचन परिणाम रद्द गर्न माग गर्ने बताएका थिए ।

त्यसको भोलिपल्ट ब्राजिलको सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा बोल्सोनारोलाई २४ घण्टाभित्र राहदानी बुझाउन आदेश दियो । उनले आदेश पालना गरेनन् । त्यसपछि उनी अमेरिका गएको खबर सार्वजनिक भयो । अमेरिकी विदेश मन्त्रालयले बोल्सोनारो र उनको परिवारलाई भिसा दिइने पुष्टि गरेकाे छ ।

अमेरिकाले बोल्सोनारोलाई किन स्वागत गर्दैछ ? यसको उत्तर उनी र ट्रम्पबीचको राजनीतिक निकटतामा खोज्न सकिन्छ ।

फ्लाभियो पूर्वराष्ट्रपति जैर बोल्सोनारोका छोरा हुन् । जैर र ट्रम्प दुवै दक्षिणपन्थी राष्ट्रवादी राजनीतिका प्रतिनिधि मानिन्छन् । जैर सन् २०२२ को निर्वाचनमा लुलासँग पराजित भएका थिए । त्यसपछि उनी पनि अमेरिका पुगेका थिए । ब्राजिलको सर्वोच्च अदालतले सन् २०२५ मा उनलाई सत्तापलटको षड्यन्त्रमा दोषी ठहर गर्दै २७ वर्षको जेल सजाय सुनाएको थियो ।

रोयटर्सले अक्टोबर २४ मा प्रकाशित एउटा समाचार रिपाेर्टमा ट्रम्प प्रशासनका दुई अधिकारीले ब्राजिलमा बोल्सोनारो परिवारलाई पुनः सत्तामा पुर्‍याउने उद्देश्यले काम गरेको जनाएको छ । दश जना वर्तमान तथा पूर्वअमेरिकी अधिकारीसँगको कुराकानीमा आधारित उक्त समाचारअनुसार उनीहरूले लुला सरकारलाई कमजोर पार्ने र बोल्सोनारो परिवारलाई सहयोग पुग्ने नीतिगत कदम अघि बढाएका थिए ।

अमेरिकाले ब्राजिलबाट आयात हुने सामानमा भन्सार शुल्क बढाउनु र त्यहाँको सर्वोच्च अदालतका न्यायाधीशमाथि प्रतिबन्ध लगाउनु पनि यही तनावका महत्त्वपूर्ण पाटा थिए । तर, यी सबै निर्णयमा ह्वाइट हाउसको प्रत्यक्ष निर्देशन थियो भन्ने पुष्टि नभएको रोयटर्सले स्पष्ट पारेको छ ।

बोल्सोनारोलाई भिसा दिनु अमेरिकाले उनलाई ब्राजिलको कानुनी कारबाहीबाट उन्मुक्ति दिएको भन्ने होइन । भिसाले अमेरिका प्रवेशको अनुमति दिन्छ, तर ब्राजिलमा चलिरहेको अनुसन्धान अन्त्य गर्दैन । अमेरिकी प्रशासनले पनि उनलाई राजनीतिक शरण दिएको घोषणा गरेको छैन ।

ब्राजिलका राष्ट्रपति लुलाले बोल्सोनारोको अमेरिका प्रस्थानलाई लज्जास्पद भन्दै आलोचना गरेका छन् । निर्वाचनमा पराजित भएपछि कानुनी अनुसन्धानको सामना गर्नुपर्ने अवस्थामा देश छाड्नुले राजनीतिक विवाद थप चर्काएको उनको भनाइ छ ।

ट्रम्प प्रशासनको निर्णयले बोल्सोनारो परिवारलाई अमेरिकामा बसेर राजनीतिक गतिविधि जारी राख्ने अवसर दिन सक्छ । तर, त्यसले ब्राजिलमा उनीहरूको प्रभाव कति बढाउँछ भन्ने निश्चित छैन ।

यो घटनाले एउटा ठूलो प्रश्न उठाएको छ- शक्तिशाली राष्ट्रले अर्को देशको निर्वाचन र राजनीतिक भविष्यमा आफ्नो रुचिअनुसार प्रभाव पार्न खोज्नु कूटनीति हो कि हस्तक्षेप ?

अमेरिका र ब्राजिलबीचको तनाव अब भिसाको विषयमा मात्र सीमित छैन । यो लोकतान्त्रिक निर्वाचनको सम्मान, राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय शक्तिसम्बन्धको परीक्षा पनि हो । लुलाले निर्वाचन जिते पनि ट्रम्प र बोल्सोनारो परिवारबीचको निकटताले ब्राजिलको राजनीतिमा नयाँ विवादको ढोका खोलेको छ ।

ताजा खबर

सम्बन्धित खबर