अर्घाखाँची : सन्धिखर्क नगरपालिका २ मा महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले ६० जना किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिएको छ ।
महिलामाथि हुने बलात्कार, जबरजस्ती करणी, कुटपिट जस्ता घटना मौलाउँदै गएका बेला सन्धिखर्क नगरपालिका २ को आयोजनामा किशोरीलाई दुई दिने आत्मरक्षा तालिम दिइएको वडाध्यक्ष मोतिजंग रायमाझीले जानकारी दिए ।
बिहीबारदेखि संचालन गरिएको तालिम शुक्रबार सकिएको छ । महिला तथा किशोरीमाथि अझै पनि हाम्रो समाजमा धेरै घटना हुने गरेकाले त्यसको अन्त्यका लागि यो तालिमले धेरै कुरा सिकाएको वडाध्यक्ष रायमाझीले बताए ।
आत्मरक्षा तालिममा वडाभित्रका १४ वर्षदेखि माथि १९ वर्ष मुनिका ६० जना किशोरीको सहभागिता रहेको वडा सचिव बिष्णु प्रसाद आचार्यले बताए । उनका अनुसार किशोरीको सुरक्षा र आत्मरक्षा सीप विकासका लागि वडाले वडाभित्रका किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरेको हो ।
महिला हिंसा हुनुको कारण, कानुनी उपचार र घटना भइहाले कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा बालिका तथा किशोरीलाई शारीरिक तथा मनोवैज्ञानिक परामर्श प्रदान गरिएको तालिमको सहजीकरण गरेका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए । तालिममा सहभागी किशोरीमध्ये सन्धिखर्क २ की कमला नेपाली अप्ठ्यारो परेका बेला आफ्नो सुरक्षा आफैं कसरी गर्ने भनेर सिकेको बताइन् ।
तालिममा सहभागीले आफ्नो गाउँबस्तीमा रहेका विद्यालयमा अध्ययनरत सबै किशोरीलाई प्रशिक्षण दिनेछन् ।