ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हल्ला मात्रै भएको बताएका छन् । बुधबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।
उनले बजारमा आएका हल्लाहरु सस्तो लोकप्रियताका लागि आएका बताए । उनले मर्मतसम्भारका लागि बाहेक अन्य कुनैपनि बहानामा लोडसेडिङ नहुने बताए । उनले बेला बखत विद्युत् विच्छेद हुने अवस्था आजमात्रै नभइ यसअघिको वर्षहरुमा पनि भएको बताए ।
उनले गत वर्ष पनि वर्षमा ७ सय घण्टासम्म यसरी विभिन्न पटक विद्युत् गएको दाबी गरे । उनले कहिले हावाहुरी, कहिले ठूला ठूला पोल ढलेका कारण, कहिले मान्छेकै कारण पनि विद्युत् आपूर्तिमा समस्या भएको उल्लेख गरे । मर्मत गरेको बेलामा विच्छेद हुने बाहेक लोडसेडिङको अवस्था नरहेको र आगामी वर्षहरुमा झनै नहुने उनले दाबी गरे ।
मन्त्री खड्काले मुलुकको भविष्य विद्युत् क्षेत्रमा रहेको बताए ।