सिन्धुली : करदाता सेवा कार्यालय सिन्धुलीको तथ्यांक अनुसार हालसम्म कर विवरण नबुझाउने करदाताको संख्या ८ हजार ८९ पुगेको छ । आर्थिक वर्ष ०८१/०८२ मा कुल ३५ हजार ५५५ करदातामध्ये ८ हजार ८९ करदाताले तोकिएको समयमै विवरण नबुझाएको कार्यालयका प्रमुख कर अधिकृत मनोज कुमार न्यौपानेले जानकारी दिए ।
उनका अनुसार धेरैजसोले विभिन्न कारोबारका लागि प्यान नम्बर दर्ता गरे पनि कारोबार बन्द भएपछि विवरण बुझाएर प्यान बन्द नगर्ने वा समयमा विवरण नबुझाउने प्रवृत्तिले यस्तो अवस्था आएको हो। करसम्बन्धी स्पष्ट जानकारी नहुँदा नेतादेखि सर्वसाधारणसम्मले कर विवरण बुझाउन ढिलाइ गर्ने गरेका छन् ।
करदाता सेवा कार्यालयको तथ्यांकले स्थानीय तहका अध्यक्षदेखि प्रमुख राजनीतिक दलका नेतासम्मले समयमै कर विवरण नबुझाएको देखाएको छ । उपभोक्ता समितिहरूले सामान्य योजनाको रकम भुक्तानीका लागि अनिवार्य प्यान दर्ता गर्नुपर्ने भए पनि कारोबार सकिएपछि प्यान बन्द नगर्दा लाखौं रुपैयाँ हर्जाना तिर्न बाँकी रहेको बताइएको छ ।
सूचना अधिकृत अर्जुन पौडेलका अनुसार करदातालाई समयमै सचेत गराउन कार्यालयले ५ पटकभन्दा बढी एसएमएस र फोन सम्पर्क गरे पनि धेरैले बेवास्ता गरेका छन् । विवरण बुझाउन अटेरी गर्नेहरूमाथि कारबाहीका लागि राजस्व कार्यालय जनकपुरमा प्रक्रिया अगाडि बढाइएको पौडेलले जानकारी दिए ।
पौडेलले कर तिर्न ढिलाइ हुँदा थप शुल्क लाग्ने भएकाले करदाताहरुलाई समयमै कर विवरण बुझाउन आग्रह गरेका छन् । साथै, कुनै व्यवसाय बन्द भइसकेको वा करदाताको मृत्यु भएको खण्डमा प्यान बन्द गराउन कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ । कानुनअनुसार, मृत व्यक्तिको सम्पत्तिबाट समेत कर असुल गर्न सकिने व्यवस्था रहेको उनले स्मरण गराए ।