देवेन्द्र आलोक/मध्यान्ह
विराटनगर : जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा दरवन्दी रहेका प्रहरी निरीक्षक मन्दिप चौहान चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागीय मुल्यमान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै विश्वबाट नै लोपोन्मुख वन्यजन्तु ‘रेड पाण्डा’ को चोरी शिकारी तथा अबैध कारोवार गर्नेहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरको भन्दै उनलाई उत्कृष्ट घोषित गरिएको हो ।
साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले प्रहरी निरीक्षक चौहानलाई निजले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७७ साल चैत ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिँदै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies