२०८२ जेठ १४ गते बुधवार / May 28 , 2025 , Wednesday
२०८२ जेठ १४ गते बुधवार
Ads

बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउन पहल

सुर्य प्रसाद भुसाल
२०८२ जेठ १३ गते २१:३३
बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउन पहल

बुटवल : बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने उद्देश्यका साथ कोरला नाकादेखि लुम्बिनी र भारतदेखि कोरला नाकासम्म पर्यटक भित्र्याउन पहल सुरू भएको छ ।  

भारतबाट मुक्तिनाथ भ्रमणका लागि आउने हिन्दु धर्मावलम्बी र चीनबाट लुम्बिनी आउने बौद्ध धर्मावलम्बी पर्यटकहरु ल्याउने र बुटवलमा विश्राम गर्ने गरी बुटवल उपमहानगरपालिकाले पहल सुरु गरेको हो ।

जसअनुसार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, म्याग्दी र मुस्ताङका विभिन्न स्थानीय तहहरुसँग भेटेर आपसी सहकार्य र पर्यटक भित्र्याउनका लागि साझा पहल थाल्ने गरी छलफल गरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र मणि खनालले जानकारी दिए ।

स्याङ्जाको कालीगण्डकी, पाल्पाको तानसेन, गुल्मीको कालीगण्डकी, बागलुङको जैमिनी, मुस्ताङको लोमान्थाङ, घरपझोङ, लो घेकर दामोदर कुण्ड, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकालगायतका स्थानीय तहहरुसँग भेटघाट गरी पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने र छिट्टै नै पालिकाहरुका बीचमा सम्मेलन आयोजना गर्ने निर्णय भएको नगर प्रमुख खेलराज पाण्डेयले मध्यान्हलाई जानकारी दिए । 

उनका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकासँग बुटवल उपमहानगरपालिकाले भगिनी सम्बन्ध कायम गर्ने सहमति समेत भएको छ । उनले बुटवलमा सबैका लागि उपयोगी हुने पर्यटक सूचना केन्द्र निर्माण गर्ने र पर्यटन व्यवसायीहरुसँगको सहकार्यमा टुर प्याकेजहरु तयार गरेर भारत र चीनका पर्यटक आकर्षित गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताए ।

यसैक्रममा बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच धार्मिक पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने सहमति भएको छ । कालीगण्डकी करिडोरलाई धार्मिक पर्यटकीय मार्गको रुपमा विकास गर्ने गरी दुई पालिका अघि बढ्ने भएका हुन् । 

उपमहानगरपालिकाको टोली मुस्ताङ भ्रमणमा रहेको बेला घरपझोङ गाउँपालिकासँग धार्मिक पर्यटन प्रवर्द्धनसँगै विकास निर्माण र सेवा प्रवाहमा समन्वय तथा सहयोग आदानप्रदानलाई निरन्तरता दिन भगिनी सम्बन्ध कायम गर्ने समझदारी समेत भएको हो। भगिनी सम्बन्धलाई औपचारिकता प्रदान गर्न निकट भविश्यमै आपसी सल्लाहमा कार्यक्रम तय गर्ने निर्णयमा उल्लेख छ ।

त्यस्तै बुटवल मुक्तिनाथ पदमार्ग क्षेत्रमा अवस्थित सबै स्थानिय सरकारको भेला आयोजना गरि धार्मिक पर्यटन प्रवर्द्धनको लागि वृहत छलफल र अन्तरक्रिया कार्यक्रमको लागि दुई स्थानिय सरकारले पहल गर्ने प्रमुख पाण्डेयले बताए ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बुटवल मुक्तिनाथ पर्यटकीय प्रवर्द्धनले समग्र देशको अर्थतन्त्रलाई चलायमान गराउने बताए ।

त्यस्तै मुस्ताङमा उत्पादित स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजार व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाले पहल गर्ने र बुटवल उपमहानगरपालिकाको उत्पादन प्रवर्द्धनमा घरपझोङ गाउँपालिकाले पहल गर्ने सहमति समेत भएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् । 

यस्तै गरी, वाग्लुङको जैमिनी नगरपालिका, स्याङ्जाको कालीगण्डकी, गुल्मीको कालीगण्डकी, मुस्ताङको लोमान्थाङ, घरपझोङ, लो घेकर दामोदर कुण्ड, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालगायतका जनप्रतिनिधिहरुले पनि बुटवलको अभियानमा सँगै अगाडि बढ्ने र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने बताएका थिए ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बुटवल र जैमिनीका बीचमा सहकार्य गरी पर्यटन प्रवर्द्धन तथा व्यापार व्यवसायमा समेत सँगै अगाडि बढ्ने बताए । कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष बेद मगर, उपाध्यक्ष मञ्जु कुमारी दर्लामी, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइरालालगायतले बुटवलले अगुवाइ गरी पर्यटन प्रवर्द्धन र व्यापार व्यवसायमा आदान–प्रदान गर्ने उद्देश्यमा सँगै अगाडि बढ्ने बताएका थिए ।

ADV

सम्बन्धित खबर