२०८२ जेठ १५ गते बिहिवार / May 29 , 2025 , Thursday
२०८२ जेठ १५ गते बिहिवार
Ads

विपक्षीको एक स्वर : गृहमन्त्रीको राजीनामा संसद् सञ्चालनको सर्त

मध्यान्ह
२०८२ जेठ १४ गते ०६:३०
विपक्षीको एक स्वर : गृहमन्त्रीको राजीनामा संसद् सञ्चालनको सर्त

काठमाडौं : प्रतिनिधि सभाको बैठक अबरोध गर्न स्वर मिलाएका प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामालाई संसद् सञ्चालनको सर्त बनाएका छन् । 

गृहमन्त्री लेखकको राजीनामालाई सर्त बनाएर नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित दलहरूले मंगलबार बैठक अवरोध गरेका छन् । 

गृहमन्त्रीबाट लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने अडान विपक्षी दलहरुले लिएका छन् ।

१५ जेठमा संसदमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर दलहरूबीच सहमति कायम नभए बजेट नै सकसमा पर्ने अवस्थामा छ ।  १४ महिनाअघि तत्कालीन गृहमन्त्री रवि लाछिानेमाथि सहकारी ठगीमा छानवीन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दलको बेन्चमा रहेको नेपाली कांग्रेसले यसैगरी सदन अबरोध गरेको थियो । माओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेकपा एमाले, रास्वाप सहितको सरकार थियो । त्यसबेला सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको कागजात पेश गर्दै राजीनामा मागेको कांग्रेसले संसद्का २२ वटा बैठक अवरोध थियो । 

कांग्रेसका तत्कालीन प्रमुख सचेतक लेखक आरोप लागिसकेपछि जो कोहीले पनि निष्पक्ष अनुसन्धानका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भन्दै कडा रूपमा प्रस्तुत हुने गरेका थिए । 

संसदमा सबैभन्दा बढी बोल्ने सांसद लेखकनै वर्तमान केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री बनेपछि त्यसबेलाको अनुसन्धानको सुुई अहिले उनीतर्फ सोझिएको छ । कांग्रेसका नेताहरू समेत यो विषयमा २ धार देखिएका छन् । बरिष्ठ नेता डा शेखर कोइरालाले गृहमन्त्रीको नाम सार्वजनीकरूपमा आइसकेपछि छानविन गर भनेर राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । 

तर, कांग्रेसकै संस्थापन पक्षका नेताहरूले कर्मचारीले गरेको गल्तीलाई गृहमन्त्रीमाथि ठोक्काएर राजीनामा माग्नु गलत अभ्यासको सुरूवाती भएको जिकिर गरेका छन् । ‘कर्मचारीले गरेको गल्तीमा मन्त्रीमाथि छानविन हुदै जाने हो भने कुनैपनि सरकारका क्याविनेट नै रहँदैन’, कांग्रेसका सांसद डा प्रकाशशरण महतले मध्यान्हसँग भने । 

मंगलबारको संसद बैठकको सुरुमै विपक्षी सांसदहरूले उठेर विरोध जनाए पछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनलाई बोल्न दिएका थिए । पूर्व अर्थमन्त्री समेत रहेका नेता वर्षमान पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरामा राखेको र त्यो विषयमा गृहमन्त्री रमेश लेखकको सचिवालय पनि जोडिएको देखिएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरे ।

‘गृहमन्त्रीज्यूको सचिवालय जोडिएको कुरा आइरहेका छन’, उनले भने ‘उहाँमाथि आरोप लागेपछि निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गरिदिनुपर्छ । र घटनाको छानबिनका लागि उच्च स्तरीय छानबिन आयोग बन्नुपर्छ । त्यो नहुँदासम्म संसद् चल्न सक्दैन ।’ 

बैठकको अवरोध खुलाउन सभामुख देवराज घिमिरले सत्ता र प्रतिपक्षी दलबीच गरेको सहमतिको प्रयास असफल भएको छ । गृहमन्त्री लेखकको राजीनामा नै विपक्षीहरूको मुख्य एजेण्डा बनाएपनि गृहमन्त्रीबाट राजीनामा नआउने भएपछि बुधबार (आज) को बैठक पनि सहज हुने अवस्था देखिदैन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि गृहमन्त्रीले मार्ग प्रशस्त गर्न माग गर्दै उच्च स्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नसक्ने बताए । 

तर, सत्ता पक्षका सांसदहरू गृहमन्त्री लेखकलाई संसदमा आफ्ना कुरा राख्न दिनुपर्ने अडानमा छन् । लेखकले आफूमाथि लागेका आरोपबारे स्पष्टीकरण दिन पाउनु पर्ने भन्दै कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले भने, ‘उहाँहरूले संसदमा जे कुरा उठाउनुभएको छ, त्यो हामीले गम्भीरतापूर्वक सुन्यौँ । त्यसैले उहाँहरूले हाम्रो कुरा पनि सुन्नुपर्ने दायित्व हुन्छ ।’ 

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले मुलुकको सुशासनको अवस्था एकदमै कमजोर भएको र सेटिङमा भ्रष्टाचारलाई संस्थागत बनाउन काममा यो सरकार लागेको बताए । ‘हामी सुशासनका पक्षमा हौं’, उनले मध्यान्हसँग भने ‘यो सरकार आएदेखि देश थप भ्रष्टाचारमा डुुवेको अवस्था छ । सरकारले सुशासनको प्रत्याभुति दिन सकेन, मानव तस्करी भयो । सरकारका गृहमन्त्री नै मुछिएकाले यो विषयमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरोस र गृहमन्त्रीको राजीनामा दिनुुपर्छ भन्ने हाम्रो माग हो । हामी आफ्नो एजेण्डाबाट पछि हट्दैनौं ।’ 

आगामी बजेटका सन्दर्भमा यो प्रकरणलाई टुंगो लगाइसकेपछि मात्रै विषय उठान हुने पाण्डेले बताए । तर, सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मंगलबारको बैठक स्थगित गरेर संवाद गर्न प्रमुख विपक्षी दलले आग्रह गरेअनुसार बुधबारसम्म बैठक स्थगित गरिएको बताए । ‘एउटा कर्मचारीको विषयलाई मन्त्रीसँग जोडेर सदन अवरुद्ध पार्ने गलत नजिर बसाउन खोजिँदै छ । यो हानिकारक हुनसक्छ’, उनले भने ।  

ADV

सम्बन्धित खबर