काठमाडौं : सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना सांसदहरूको सुरक्षामा खटिएका पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) एकैपटक फिर्ता बोलाएको छ । पीएसओ फिर्ता गरिएका सांसदहरूमा प्रमुख सचेतक ज्ञानेन्द्र शाही, पूर्वाधार विकास समिति सभापति दीपक सिंह र पूर्वआईजीपी समेत रहेका सांसद ध्रुवबहादुर प्रधान छन् ।
सरकारले राप्रपाबाट संसद र समितिमा जिम्मेवारी पाएका सांसदहरूलाई दिइएको सुरक्षा अधिकृतहरू बुधबार फिर्ता बोलाएको हो । नेपाल प्रहरीका अनुसार ती पीएसओहरूलाई नियमित ब्रिफिङका लागि बोलाइएको बताइएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले फिर्ता गरिएको भनेर जानकारी नभएको बताउँदै नियमित ब्रिफिङका लागि बोलाइएको प्रतिक्रिया दिएका छन्।
तर राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने यसप्रति आपत्ति जनाएका छन् । उनले पीएसओ फिर्ता गरिनुलाई विभेदपूर्ण व्यवहारको रूपमा व्याख्या गर्दै संसदमा सबै सांसदहरू समान हुनुपर्नेमा सरकारले असमान व्यवहार गरेको आरोप लगाएका छन् ।