दोहा कतार : गोरखा जिल्लाबाट वैदेशिक रोजगार तथा व्यवसायको सिलसिलामा कतारमा रहेका गोरखालीहरूको साझा संस्था गोरखा सेवा समाज कतारको १३औं अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार ३० तारिक ग्राण्ड मलमा रहेको वेलफेयर रेस्टुरेन्टको सभा हलमा दिउँसो १ बजेबाट सुरु हुने अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रमको तयारीलाई अन्तिम चरणमा पुर्याइएको समाजले जनाएको छ ।
अधिवेशनलाई भव्य तथा सभ्य रूपमा सफल पार्न कतारबासी गोरखालीहरूलाई समाजले आग्रह गरेको छ । अधिवेशनलाई लक्षित गर्दै समाजले साधारण तथा आजीवन सदस्यता समेत खुला गरेको अध्यक्ष ओमराज गुरुङले मध्यान्ह दैनिकलाई जानकारी दिए । सदस्यता लिन चाहने व्यक्तिहरूले अधिवेशनको खुला सत्रसम्म आफ्नो परिचय खुल्ने कतारको कागजात, २ प्रति फोटो सहित सशुल्क सचिवालयमा सम्पर्क गरेर लिने सकिने व्यवस्था मिलाइएको गुरुङले बताए । सन् २००३ मा कतारमा स्थापित समाजले कतारसहित जिल्लामा समेत अग्रस्थानमा रहेर कार्य सम्पादन गर्दै आइरहेको छ ।