रौतहट : चन्द्रपुर नगरपालिकाले नगर अस्पताललाई विस्तार गरेको छ । हाल सञ्चालनमा रहेको चन्द्रनिगाहपुर अस्पताल साँघुरो भएका कारण अस्पताललाई विस्तार गरी नयाँ बनाउन लागिएको मेयर सञ्जय काफ्ले जानकारी दिए ।
अस्पताल अहिले १५ शैयाको छ । पालिकाको १४ कठ्ठा जमिनमा विस्तार गरी थप १५ शैयाको बनाउन लागिएको हो ।
२ वर्षमा निर्माण सम्पन्न हुने गरी ४ करोड ९३ हजार १८ सय रुपैयाँमा अस्पताल बनाउन ठेक्का लागेको छ ।
नगर अस्पताल निर्माणका लागि संघीय सरकारबाट ३ करोड, प्रदेश सरकारबाट १ करोड र अपुग रकम नगरपालिकाले व्यहोर्ने गरी रकम विनियोजन भएको छ । नगर अस्पतालको पहिलो चरणको काम सम्पन्न भएपछि पुनः अर्को तलाका लागि टेन्डर आह्वान गरिने मेयर काफ्ले बताए । उनका अनुसार नगर अस्पताललाई सुविधा सम्पन्न बनाउन ३५ करोडको हाराहारीमा रकम लाग्ने अनुमान छ ।