काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड विनियोजन गरेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।
उनले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सबै प्रकारका नमूना परीक्षण हुने अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालाको रूपमा स्तरोन्नति गरिने बताए । उनले प्रयोगशालाको स्तरोन्नतिको लागि पूर्वाधार विकास, यन्त्र उपकरण र जनशक्ति व्यवस्थापन गरिने जिकिर गरे ।
अर्थमन्त्री पौडेलले यसबाट नमूना परीक्षणको लागि विदेशमा पठाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथी, अगुपेन्चर लगायतका वैकल्पिक उपचार पद्धतिलाई प्रवर्द्धन गरिने बताए । उनले सिंहदरबार वैद्यखानाको उत्पादन क्षमता विस्तार गरिने समेत जानकारी दिए ।