२०८२ जेठ १८ गते आइतवार / Jun 01 , 2025 , Sunday
२०८२ जेठ १८ गते आइतवार
Ads

‘१५ वर्षभित्र सिंगो लुम्बिनीलाई अर्गानिक प्रदेश बनाउँछौं’

सुर्य प्रसाद भुसाल
२०८२ जेठ १६ गते २०:३६
‘१५ वर्षभित्र सिंगो लुम्बिनीलाई अर्गानिक प्रदेश बनाउँछौं’

बुटवल : रुपन्देहीको रोहिणीमा  प्रांग्रारिक मल उद्योगको औपचारिक उद्घाटन गरिएको छ । उद्योगको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गरेका हुन् । 
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले मानव स्वास्थ्य र माटोको उर्वराशक्ति सुरक्षाका लागि प्रांग्रारिक मलको प्रयोग अपरिहार्य भएको बताए ।

उनले प्रदेश सरकारले नीति तथा कार्यक्रममा सिंगो  प्रदेशलाई प्रांग्रारिक बनाउने नीति अघि सारेको स्पष्ट पार्दै त्यसका लागि प्रवद्र्धनमुखी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

रासायनिक मलको प्रयोगबाट उत्पादन हुने खाद्यान्नका कारण नागरिक रोगी बन्ने, नयाँ–नयाँ रोग देखिने, लुम्बिनी प्रदेशमा मात्र हरेक वर्ष एक हजारभन्दा बढी क्यान्सरका बिरामीको उपचारमा खर्च गर्नुपरेको उल्लेख गर्दै उनले रासायनिक मल र विषादीयुक्त खानेकुरा क्यान्सरको प्रमुख कारणको रूपमा प्रमाणित भइसकेकाले १५ वर्षभित्र लुम्बिनीलाई अर्गानिक प्रदेश बनाउने संकल्प गरिएको बताए । ‘सरकारले नीति तथा कार्यक्रममै प्रदेशलाई अर्गानिक प्रदेश बनाउने घोषणा गरेको छ । त्यसका लागि स्वदेशी प्रांग्रारिक मल उद्योगसँग सहकार्य गर्छौं,’ उनले भने, ‘सुरूमा पहाडका ६ जिल्ला र क्रमशः तराईका ६ जिल्लालाई प्रांग्रारिक जिल्ला बनाउँदै सिंगो प्रदेशलाई अर्गानिक सर्टिफाइड बनाउँछौं ।’

मुख्यमन्त्री आचार्यले प्रांग्रारिक मलबाट उत्पादन हुने खाद्यवस्तु तथा फलफूल विदेश निर्यात गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै प्रदेशका केही पालिकालाई प्रांग्रारिक पालिकाका रूपमा घोषणा भइसकेको जानकारी दिए । उनले प्रदेशका हरेक पालिकामा प्रांग्रारिक मल प्रवद्र्धनका लागि कृषि ज्ञान केन्द्रलाई निर्देशन दिने प्रतिवद्धता व्यक्त गरे ।

भैरहवाका उद्योगी दम्पत्ती सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालको ३० करोड रुपैयाँको लगानीमा रोहिणी गाउँपालिका–४ कोटहवामा ‘ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रा.लि.’ मार्फत गत वर्षदेखि मल उत्पादन सुरू भएको थियो ।

प्रति दिन २ सय मेट्रिक टन मल उत्पादन क्षमता रहेको उक्त उद्योगले हाल ‘रत्नम’ ब्रान्डमा दैनिक ८० मेट्रिक टन मल उत्पादन गरिरहेको छ । कार्यक्रममा पूर्व सांसद घनश्याम यादव, प्रमोद यादव, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या यादवलगायतले नेपालकै ठूलो प्रांग्रारिक मल उद्योग लुम्बिनी प्रदेशमा सञ्चालनमा आउँदा किसानले अब मलको अभाव झेल्न नपर्ने बताए ।

उद्योगका सञ्चालक सिद्धार्थ अग्रवालले कच्चा पदार्थ आयातमा कर छुटको व्यवस्था गरिनुपर्ने र स्वदेशी प्रांग्रारिक मलको बजारीकरणमा सरकारले सहयोग गर्नुपर्ने माग गरे । उद्योगकी प्रबन्ध निर्देशक पुनमकुमारी अग्रवालले कोरोना संक्रमणका कारण आफ्नै बुबालाई गुमाउनु परेको र श्रीमानसमेत संक्रमित भएर अस्पताल भर्ना भएको अवस्थामा मानव स्वास्थ्य र माटोको उर्बराशक्ति जोगाउन प्रांग्रारिक मल उद्योग खोल्ने निर्णय लिएको स्मरण गराइन् । 

ADV

सम्बन्धित खबर