–जयप्रकाश गुप्ता
जाडोले मधेसका केही जिल्लाहरूमा स्कूलहरू बन्द भए । फेरि पनि बन्द हुनसक्छ । केही गरीब तथा विपन्नहरूको मृत्यूू भयो । मृतकको संख्या बढ्न पनि सक्छ । मधेसमा अप्रत्यासितरूपमा पहिलो पटक यो मौसम आएको होइन, यो अपवादको जाडो हैन । मधेसमा पहाडी क्षेत्रहरूको भन्दा भिन्न शितलहरसहितको कडा जाडो वर्षेनी भैरहन्छ । हरेक वर्ष जाडोको याममा मानिसहरूको मृत्यू पनि भैरहन्छ । तत्काल यसबारे चर्चा हुन्छ, फेरि कुरा सेलाएर जान्छ ।
हरेक वर्षको जाडोमा गरीबहरू नै किन मर्छन् ? नेपालमा मात्र होइन, सीमावर्ती भारतमा पनि गरीबहरूको मृत्यु भएको सुनिन्छ । बंगलादेश, पाकिस्तान तथा दक्षिण एशियाका अन्य मुलुकहरूमा पनि । यो मुलतः प्रतिकूल मौसमको मार मानव शरीरले थाम्न नसकेको हो कि गरीबीसँग पनि यसको कुनै सम्बन्ध छ ? गत वर्ष सार्वजनिक भएको सरकारी तथ्यांकअनुसार मधेस प्रदेशको बहुआयामिक गरीबीको दर भने ४७.८९% पुगेको छ । यस वर्ष सम्भवतः यसमा अझ केही वृद्धि भएको हुनुपर्छ । यो गम्भीर विषय हो, यसका बारे गम्भीरताका साथ बहस हुनुपर्छ ।
‘गरीबी’ र ‘अकाल’का बारेमा नोवेल पुरष्कारबाट सम्मानित अमत्र्य सेनले धेरै लेखेका छन् । उनको प्रसिद्ध पुस्तक ‘गरीबी र अनिकाल’मा नोवेल पुरस्कार पाएका अर्थशास्त्री अमत्र्य सेनले जर्ज वर्नाड शाँले लेखेको एक मर्मस्पर्शी प्रसंगको उद्धरण दिएका छन् । शाँले आफ्नो कृति ‘म्यान एण्ड सुपरम्यान’मा आयरिश अमेरिकी पात्र मेलोनमार्फत बडो घतलाग्दो चर्चा बढाएका छन् । पात्रको रूपमा मेलोन अप्रवासी अमेरिकी थिए । जो, आयरल्याण्डबाट अमेरिका आएका थिए । मेलोनले अर्का पात्र व्यायलेटलाई सोध्छन्– सन् ४७को भयानक भोकमरीमा मेरो पिता जी मर्नु परेको बारे तिमीले सुनेका थियौ ?
व्यायलेट– अ त्यो ठूलो अकाल ?
मेलोन भन्छन्– अकाल हैन क्या, भोकमरी !
उनी सम्झाउदै भन्छन्– जब कुनै देशमा प्रचूर खाद्यान्न हुन्छ, त्यस देशले निर्यात पनि गरिरहेको हुन्छ, वा त्यस देशले पर्याप्त मात्रामा अनाजको आयातसमेत गरेको हुन्छ, यस्तोमा त्यहाँ अकाल त हुन्न् नि ! तै पनि मेरो पिताको भोकमरीले मृत्यु भयो । भोककै सामना गर्न नसकेर म आफ्नो देश परित्याग गरी अमेरिका आएको हुँ बुझ्यौ ?
यसरी मेलोनले व्यायलेटलाई भोकमरी र अकालका बीचको फरक सम्झाएको थियो । अमत्र्य सेन राज्य नियन्त्रित अवितरणमुखी राज्य व्यवस्थाको दोष केलाउन सक्ने खप्पिस अध्येता हुन् । यिनलाई पढेर समुन्नत मुलुकहरूले व्यहोर्नु परेको भोकमरी, अकाल र जाडोबाट मर्नु परेकाहरूको परिस्थिति बुझ्न सकिन्छ । मानव शरीरले १०–१३ डिग्रीमा झरेको तापक्रम र चिसो शितलहरलाई थाम्न नसक्ने होइन । तरपनि मानिस मरिरहेका हुन्छन् । अहिलेको जाडोमा मधेसको सप्तरी सिराहातिर बढी मानिस मरिरहेका छन् ।
केही अपवाद बाहेक गर्मी र चिसो जस्ता मौसमी दुर्दान्ताले लोककल्याणकारी समाजहरूमा मानिस मर्दैनन् । जिम्मेवारीबिहीन र लोककल्याणकारी नीतिका विरोधी राज्यमा मात्र यस्तो मृत्यूहरू हुन्छ । नभए संसारको मानचित्रमा साइबेरिया र अन्टार्कटिकाहरू प्रागः ऐतिहासिक कालदेखि नै मानवबिहीन हुन्थ्यो । जर्मनीको म्यूनिख र बेलायतको लण्डन जस्ता शहरहरू हरेक वर्षको जनवरीमा चिसोले मरेका मानिसहरूको लम्पसार कब्रिस्तानमा रूपान्तरित हुनेगथ्र्याे । तर, त्यसो हुँदैन ।
काठमाडौं उपत्यका र मधेसी बजारका सडक पेटीमा लगाइने हंगकंग बजारहरूमा जताततै सस्ता कपडाहरू बिक्रीमा राखिएको पाइन्छ । सय÷ढेड सय रूपियाँसम्ममा जीऊ छोप्ने लुगाहरू पाइन्छ । निर्वस्त्र निर्धन गरीबहरूका लागि यस्तो लुगा जीवनरक्षक हुन सक्छ । तर, सरकारद्वारा यस्ता बस्त्रहरू बितरण गरिँदैन । स्वायत्त शासनको अभ्यास गर्न तम्सेर बसेका नवनिर्वाचित स्थानीय प्रतिनिधिहरूको जनकल्याणकारी प्राथमिकतामा यो कार्य पर्दैन । धर्मान्ध समाजको गाँस पुर्याउन दशैंको मुखमा सरकारी अनुदानबाट करोडौं करोडको भेडा च्यांग्रा झिकाउने सरकार सस्तो दामको लुगाफाटो झिकाएर गरीबगुरूवाको बस्तीमा बाँडदैन ।
संसार साक्षी छ, औपनिवेशिक भारतको बंगालमा सन् ४३ को अकाल, सन् १९७३–७५ मा इथोपियाको अकाल, अफ्रिकी साहेल क्षेत्रको सन् १९७० को अकाल, यस्तै सन् १९७४मा बंगलादेशको अकालहरूमा भएको लाखौंका मृत्युहरूका लागि ती ठाँउहरूका राज्य व्यवस्थाको जनअहितकारी, अकल्याणकारी राज्य सोच र नीति निर्माताहरू जिम्मेवार रहे । सबै सभ्य मुलुकहरू, उत्तरदायी अन्तर्राष्ट्रिय संघ संस्थाहरू, शोधकर्ताहरूले यस तथ्यलाई स्वीकारेका छन् । यसका बावजूद पनि आज दशकौं पछि नेपालमा वर्षमा एक पटक फगत दुुई÷चार सय रूपियाँको कपडा लत्ता नपाएर देशको जनता मर्नु परिरहेको छ । र, हामी जाडो बढ्यो, शीत लहर बढ्यो भनेर बसेका छौं !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies