२०८३ कार्तिक २८ गते शनिवार / Nov 14 , 2026 , Saturday
२०८३ कार्तिक २८ गते शनिवार

दुराडाँडाका अग्रणी भवदत्त

Nada
गणेश खनियाँ
२०८३ कार्तिक २८ गते ०६:०५
Shares
दुराडाँडाका अग्रणी भवदत्त

समाजको विकासमा योगदान पुर्‍याउने सबै व्यक्तित्व राजनीतिक नेतृत्व वा सरकारी पदमा पुगेका हुँदैनन् । कतिपयले आफ्नो समयको आवश्यकता पहिचान गरी व्यक्तिगत सम्पत्ति, श्रम र सोचलाई सामुदायिक हितमा उपयोग गर्छन् । उनीहरूले सुरु गरेका कामको प्रभाव पुस्तौँसम्म रहन्छ ।

लमजुङको ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको दुराडाँडाको विकासक्रममा साहु भवदत्त खनियाँको योगदान यस्तै स्मरणीय छ । शिक्षा, धर्म–संस्कृति र सामाजिक पूर्वाधारको विकासमा उहाँले पुर्‍याउनुभएको योगदान दुराडाँडाको इतिहासको महत्वपूर्ण अध्याय हो ।

सम्पन्न परिवार, प्रतिष्ठित छवि

स्थानीय तथा पारिवारिक जानकारीअनुसार भवदत्त खनियाँभन्दा अघिका तीन–चार पुस्तासम्म प्रायः एक्लो छोरा जन्मिने परम्परा थियो । पुस्तौँसम्म पारिवारिक सम्पत्ति एकै व्यक्तिमा केन्द्रित हुँदै आएकाले उहाँको परिवार त्यस क्षेत्रकै सम्पन्न र प्रतिष्ठित साहु परिवारका रूपमा परिचित थियो ।

त्यसबेलाको आर्थिक हैसियत र सामाजिक प्रतिष्ठाको झलक उहाँले निर्माण गर्नुभएको विशाल घरबाट पनि पाइन्छ । स्थानीय स्मृतिमा उक्त घर फराकिलो र बलिया काठ प्रयोग गरेर बनाइएको भव्य संरचनाका रूपमा सम्झिइन्छ । घर निर्माणका लागि सोती पसलदेखि चोकचिसापानी हुँदै दारेगौँडासम्मका मानिस सहभागी हुन आएको स्थानीय भनाइ छ । त्यसबेला आधुनिक निर्माण सामग्री र प्रविधि उपलब्ध थिएनन् । यस्तो अवस्थामा टाढाटाढाबाट मानिस आएर घर निर्माणमा सहभागी हुनुले उहाँको आर्थिक सामथ्र्यसँगै सामाजिक सम्बन्ध र प्रभावसमेत दर्शाउँछ ।

समयक्रममा संरक्षण र मर्मतसम्भार हुन नसकेपछि पुरानो घर भत्काइयो । अहिले त्यही स्थानमा तीनवटा ठूला घर बनेका छन् । पुरानो घरका विशाल काठ र बनावटबारे स्थानीयले अझै चर्चा गर्ने गर्छन् ।

भवदत्त खनियाँका छ जना छोरा थिए । जेठा दीनानाथ, साइँला लीलाकान्त, ठाइँला पुस्तक राज र काइँला सुकदेव खनियाँ थिए । माइँला छोराको विवाहअघि नै निधन भएको थियो भने कान्छा छोराको विवाहलगत्तै निधन भएको पारिवारिक विवरणमा उल्लेख छ । कान्छा छोराको निधनपछि उहाँकी श्रीमतीले सुनका गरगहना लगाउने प्रसङ्गसँग जोडिएर स्थानीय रूपमा ‘सुन लगाऊँने कान्छीया’ भन्ने उपनामसमेत प्रचलनमा रहेको बताइन्छ ।

पछिल्ला पुस्तामा खनियाँ परिवार विस्तारित हुँदै गयो । जेठा दीनानाथका नौ, साइँला लीलाकान्तका तीन तथा ठाइँला पुस्तक राज र काइँला सुकदेवका एक–एक छोरा जन्मिएका थिए । यसरी भवदत्त खनियाँका नातिहरूको संख्या १४ पुगेको देखिन्छ । पुस्तौँसम्म एक्लो सन्तानको परम्परा रहेको परिवार पछिल्ला पुस्तामा विस्तारित हुँदै जानु खनियाँ परिवारको अर्को रोचक पक्ष हो ।

शिक्षाको जग बसाल्ने पाठशाला

भवदत्त खनियाँको योगदानमध्ये सबैभन्दा महत्वपूर्ण पक्ष शिक्षा क्षेत्रमा उहाँले गर्नुभएको पहल हो । आजको जस्तो विद्यालय, यातायात र शैक्षिक सामग्रीको सहज पहुँच नभएको समयमा गाउँमै पाठशाला सञ्चालन गर्नु चुनौतीपूर्ण थियो । यस्तो अवस्थामा बालबालिकालाई पढ्ने अवसर उपलब्ध गराउनु आफैँमा सामाजिक परिवर्तनको महत्वपूर्ण काम थियो ।

स्थानीय जानकारीअनुसार उहाँले दुराडाँडामा पिण्डी पाठशाला स्थापना गर्नुभएको थियो । यसको स्थापना समय वि.सं. १९७९ देखि १९८० बीच रहेको अनुमान छ । सम्भवतः वि.सं. १९७९ तिर पाठशाला स्थापना भएको हुन सक्ने पारिवारिक जानकारी छ । यससँग सम्बन्धित शिलालेखसमेत रहेको बताइन्छ । त्यसको अध्ययनबाट स्थापना मिति र अन्य विवरण थप स्पष्ट हुन सक्छन् ।

पाठशालामा अध्यापन गराउन उहाँले काठमाडौँबाट टिकाराम गुरु नामका शिक्षकलाई ल्याउनुभएको थियो । टाढाबाट शिक्षक ल्याउनु र उहाँको पारिश्रमिक तथा बसोबासको व्यवस्था मिलाउनु त्यसबेला सामान्य कुरा थिएन ।

टिकाराम गुरुलाई मासिक पाँच रुपैयाँ पारिश्रमिक र एउटा लैनो भैँसी उपलब्ध गराउने व्यवस्था गरिएको थियो । उहाँलाई घुमाउने घरमा बस्ने प्रबन्धसमेत मिलाइएको स्थानीय जानकारी छ । शिक्षकका रूपमा गाउँमा काम गर्न थालेपछि उहाँको पारिवारिक जीवन व्यवस्थित बनाउन पनि भवदत्त खनियाँले सहयोग गर्नुभएको बताइन्छ । नजिकैको चारघरे गाउँको प्रतिष्ठित परिवारमा उहाँको विवाह गराइदिने व्यवस्था मिलाइएको थियो ।

पारिश्रमिक र आवाससँगै शिक्षकको सामाजिक जीवनसमेत व्यवस्थित बनाउन ध्यान दिनुले भवदत्त खनियाँले शिक्षालाई कति महत्व दिनुभएको थियो भन्ने देखाउँछ । व्यक्तिगत पहल र स्रोतबाट पाठशाला सञ्चालन गर्नु उहाँको दूरदर्शी सोचको उदाहरण हो ।

तुर्लुङकालिका मन्दिरमा योगदान

भवदत्त खनियाँको योगदान शिक्षा क्षेत्रमा मात्र सीमित थिएन । धार्मिक आस्था, संस्कृति र सामुदायिक संरचनाको विकासमा पनि उहाँको महत्वपूर्ण भूमिका रहेको स्थानीय स्मृतिमा उल्लेख छ ।

किरिन्चे र पाउँदीखोला मिसिने दोभान क्षेत्रबाट उकालो यात्रा सुरु हुन्छ । त्यस क्षेत्रको फेदी सत्रसय हुँदै दुराडाँडाको अग्लो स्थानमा अवस्थित तुर्लुङकालिका मन्दिर पुग्न सकिन्छ । पैदल यात्रा गर्दा करिब तीनदेखि चार घण्टा लाग्ने अनुमान छ । आज पनि भौगोलिक रूपमा कठिन मानिने यस क्षेत्रमा त्यसबेला आवतजावत झनै चुनौतीपूर्ण थियो । मन्दिरसम्म पुग्न सहज होस् भनेर भवदत्त खनियाँले बाटो तथा सिँढी निर्माणमा योगदान पुर्‍याउनुभएको थियो ।

तुर्लुङकालिका मन्दिरको स्थापना तथा निर्माणमा पनि उहाँको महत्वपूर्ण भूमिका रहेको स्थानीय जानकारी छ । उहाँले मन्दिर परिसरमा ठूला कुण्ड र होमकुण्ड निर्माण गराउनुभएको थियो । धार्मिक अनुष्ठानका लागि आवश्यक संरचना निर्माण गर्नुका साथै मन्दिरको धार्मिक महत्व बढाउन उहाँले अग्रणी भूमिका खेल्नुभएको बताइन्छ ।

दसैँमा नवदुर्गा पूजा, भोज तथा परम्पराअनुसार बलि दिने व्यवस्थासमेत मिलाइएको स्थानीय जानकारी छ । यससँग जोडिएका धार्मिक गतिविधि र परम्पराले अहिलेसम्म निरन्तरता पाउँदै आएका छन् । मन्दिरको निर्माण, बाटो र सिँढी, कुण्ड तथा होमकुण्डको व्यवस्था र नियमित धार्मिक अनुष्ठान सञ्चालनमा उहाँको संलग्नताले धार्मिक आस्थालाई सामुदायिक हितसँग जोड्ने प्रयास देखाउँछ ।

सम्पत्तिको सामाजिक उपयोग

भवदत्त खनियाँको समयलाई आजको आधुनिक सुविधासँग तुलना गर्न मिल्दैन । यातायातका साधन सीमित थिए । निर्माण सामग्री सहजै उपलब्ध हुँदैनथे । गाउँका मानिसले आपसी सहयोग र श्रमदानबाट बाटोघाटो तथा सार्वजनिक संरचना निर्माण गर्नुपर्ने अवस्था थियो ।

यस्तो परिवेशमा पाठशाला स्थापना गर्नु, काठमाडौँबाट शिक्षक ल्याउनु, उहाँको पारिश्रमिक र बसोबासको व्यवस्था मिलाउनु तथा तुर्लुङकालिका मन्दिरसम्म पुग्ने बाटो र सिँढी निर्माणमा योगदान पुर्‍याउनु महत्वपूर्ण सामाजिक काम थिए ।

उहाँका कामलाई एकसाथ हेर्दा आफ्नो आर्थिक सामथ्र्यलाई पारिवारिक सुखसुविधामा मात्र सीमित नराखी शिक्षा, धर्म–संस्कृति र सार्वजनिक हितमा उपयोग गरेको देखिन्छ । सम्पन्न व्यक्तिको जिम्मेवारी परिवार र सम्पत्तिको संरक्षणमा मात्र सीमित हुँदैन भन्ने सोच उहाँका काममा प्रतिविम्बित भएको पाइन्छ ।

इतिहास अभिलेखीकरणको खाँचो

समयसँगै समाजका महत्वपूर्ण घटना र व्यक्तित्वका योगदान मौखिक स्मृतिमा मात्र सीमित हुँदै जान्छन् । पुराना घर भत्किन्छन्, बाटोको स्वरूप फेरिन्छ र पाठशालाको संरचना बदलिन्छ । नयाँ पुस्ताले पुरानो इतिहासबारे कम जानकारी पाउन थाल्छ ।

साहु भवदत्त खनियाँको योगदानलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्नु आवश्यक छ । विशेषगरी पिण्डी पाठशालामा रहेको भनिएको शिलालेखको अध्ययन, टिकाराम गुरुसँग सम्बन्धित विवरणको खोजी, तुर्लुङकालिका मन्दिरको निर्माण इतिहास तथा पुरानो घरका अवशेषको अध्ययनले उहाँको योगदानलाई थप प्रमाणिक बनाउन सक्छ ।

उहाँका सन्तान र पछिल्ला पुस्तासँग उपलब्ध पुराना कागजात, तस्बिर तथा पारिवारिक अभिलेख संकलन गर्न सके दुराडाँडाको सामाजिक, शैक्षिक र सांस्कृतिक इतिहास लेखनमा महत्वपूर्ण सामग्री प्राप्त हुन सक्छ । मौखिक इतिहासलाई लिखित अभिलेख र भौतिक प्रमाणसँग जोड्न सके मात्र विगतका योगदानलाई विश्वसनीय रूपमा नयाँ पुस्तासम्म पुर्‍याउन सकिन्छ ।

दुराडाँडाको विकासलाई पछिल्लो समय निर्माण भएका सडक, भवन र आधुनिक पूर्वाधारबाट मात्र बुझ्न सकिँदैन । त्यसको जग बसाल्न विगतमा योगदान पुर्‍याउने व्यक्तित्व र उनीहरूले गरेका कामको पनि खोजी गर्नुपर्छ ।

साहु भवदत्त खनियाँ त्यस्तै ऐतिहासिक व्यक्तित्व हुनुहुन्छ, जसको योगदान दुराडाँडाको शैक्षिक, धार्मिक र सामाजिक इतिहाससँग जोडिएको छ । पिण्डी पाठशालाको स्थापना, शिक्षकको व्यवस्थापन, तुर्लुङकालिका मन्दिरको निर्माण र त्यहाँ पुग्ने बाटो तथा सिँढी निर्माणमा उहाँले पुर्‍याउनुभएको योगदान स्थानीय स्मृतिमा सुरक्षित छ ।

उहाँको जीवन र योगदानको चर्चा गर्नु एउटा व्यक्तिको प्रशंसा मात्र होइन, दुराडाँडाको सामाजिक, शैक्षिक र सांस्कृतिक विकासको इतिहासको महत्वपूर्ण अध्यायलाई पुनः उजागर गर्नु पनि हो ।

(लेखक खनियाँ नेपाल पत्रकार महासंघ जापान शाखाका सदस्य, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको कान्तो क्षेत्रीय शाखाका सल्लाहकार तथा मानवताका लागि युवा नेपालका संस्थापक अध्यक्ष हुन् ।)

laxmi recruitement

सम्बन्धित खबर