२०८२ जेठ २४ गते शनिवार / Jun 07 , 2025 , Saturday
२०८२ जेठ २४ गते शनिवार
Ads

भारतबाट फर्किनेमा देखियो कोरोना संक्रमण, छैन तयारी

जानकी पाठक
२०८२ जेठ २४ गते ०६:२५
भारतबाट फर्किनेमा देखियो कोरोना संक्रमण, छैन तयारी

काठमाडौं : भारतमा कोभिड–१९ (कोरोना भाइरस)को नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेपछि त्यसको प्रत्यक्ष असर नेपालका सीमावर्ती क्षेत्रहरूमा देखिन थालेको छ ।

भारतमा कोरोनाको नयाँ भेरियन्ट फैलिएपछि सीमा नाकाबाट नेपाल भित्रिनेहरूमा संक्रमण देखिन थालिएको हो । कोरोनाको संक्रमण बढ्दै जाँदा त्यसको पूर्व तयारीमा सरकारको ध्यान पुगेको छैन ।  

कैलालीको नाका हुँदै नेपाल भित्रिनेहरूमा नयाँ भेरियन्ट पुष्टि भएको छ तर परीक्षण किटको अभावले चुनौती थपिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले सीमा नाकामा हेल्थ डेस्क स्थापना गरे पनि परीक्षण सामग्री अभाव, जनशक्तिको कमी र संघीय सरकारसँगको समन्वयमा ढिलाइ हुँदा जोखिम बढेको छ ।

सुदूरपश्चिम प्रदेशको पश्चिम र दक्षिण सीमा भारतसँग जोडिएको छ । विशेषगरी कैलालीको त्रिनगर र कञ्चनपुर जिल्लाको गड्डाचौकी नाका हुँदै दैनिक सयौँ व्यक्ति नेपाल भित्रिरहेका छन् । त्यसैले पनि यहाँ सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै चासो बढेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार त्रिनगर नाका हुँदै नेपाल फर्किएका ३ जनामा कोरोना भेरियन्टको सङ्क्रमण पुष्टि भइसकेको छ । त्यसपछि सीमामा सतर्कता अपनाइए पनि परीक्षणका लागि चाहिने आवश्यक सामग्रीको अभाव छ ।

छैन किट सामग्री

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी धर्मानन्द गिरीका अनुसार सीमामा तत्काल परीक्षणका लागि प्रयोग हुने एन्टिजेन किटको अभाव छ । ‘कोरोना सङ्क्रमणको जोखिम बढेको छ । तर किट नभएकाले परीक्षणको काम प्रभावकारी रूपमा गर्न सकिएको छैन,’ उनले भने ।

अहिले हेल्थ डेस्कमार्फत शंका लागेका तथा लक्षण देखिएकाहरूको स्वाब संकलन गरी जनस्वास्थ्य प्रयोगशाला धनगढीमा पीसीआर परीक्षणका लागि पठाइँदैछ ।

अहिले सीमामा पीसीआर परीक्षणको भरमा काम चलाइएको छ । भारतबाट आउनेमध्ये केही व्यक्तिमा सङ्क्रमण पुष्टि भइसके पनि कुन भेरियन्ट हो भन्नेबारे जीन सिक्वेन्सिङ नभएसम्म ठोस कुरा भन्न नसकिने अवस्था छ ।

सुदूरपश्चिम प्रदेश सरकारले भारतसँग जोडिएका मुख्य नाकाहरू कैलालीको त्रिनगर र टीकापुर, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलंगा नाकामा हेल्थ डेस्क स्थापना गरेको छ । हरेक डेस्कमा ५/५ जना गरी कुल २५ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । उनीहरू नाकामा आउने व्यक्तिको प्रारम्भिक स्वास्थ्य परीक्षण, लक्षणको निगरानी तथा सचेतनामूलक कार्यमा खटिएका छन् ।

तर, परीक्षण किट र आवश्यक पूर्वाधार अभावका कारण उनीहरूको काम सीमित भएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार पीसीआर परीक्षणमा समय लाग्ने र परीक्षणको संख्या सीमित भएकाले वास्तविक जोखिमको मूल्यांकन गर्न गाह्रो भइरहेको छ ।

पूर्वतयारीको कमी, परीक्षण सामग्रीको अभाव र सीमामा मानिसको उच्च चहलपहलबिच सङ्क्रमण फैलिनसक्ने जोखिम भने कायमै छ । सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दा सङ्क्रमणको सम्भावित जोखिमप्रति चिन्तित छन् । 

स्वास्थ्यकमीहरू यसअघि सीमाबाट सुरु भएको सङ्क्रमण देशव्यापी बनेको उल्लेख गर्दै यसपटक महामारीले डरलाग्दो रूप लिन नदिन अहिले नै तयारी गर्नुपर्ने बताउँछन् ।

भारतबाट कञ्चनपुरको गौरीफन्टा नाकामा भएर आएका २ पुरुष र १ महिला गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट आएका ३७ जना नेपालीमा एन्टीजेन परीक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोराना संक्रमण पोजेटिभ हुनेमा कञ्चनपुरका १ जना, कैलालीका १ जना र अछामका १ जना छन् । उनीहरू भारतको दिल्ली, गुजरात र पञ्जाबबाट आएका थिए । उनीहरूलाई होम आइसोलेसनमा बस्न आग्रह गरिएको छ । उनीहरूको पीसीआर परीक्षणका नमूना काठमाडौँ पठाइएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले भने, ‘भारतमा सङ्क्रमण बढिरहेको छ, खुला सिमानाकाका कारण सुदूरपश्चिममा पनि सङ्क्रमणको जोखिम बढेको छ ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तनसक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ । तर, नाकामा परीक्षणका लागि किट नहुँदा परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालयको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले कोभिड परीक्षणका लागि किट अभाव रहेको जानकारी दिए ।

‘गड्डाचौकी नाकाबाट नेपाल आउनेको सङ्ख्या बढेको छ, नाकामा रहेको रहेको हेल्थ डेस्कबाटसमेत कोभिड परीक्षणको किट माग भएको छ’, उनले भने, ‘हामीसँग किट छैन ।’

भारतमा शुक्रबारसम्म कोभिड–१९ का सक्रिय संक्रमितहरूको संख्या ५ हजार नाघेका छन् । भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको तथ्यांक अनुसार देशमा कोभिड–१९ का कुल ५,३६४ सक्रिय केस पुष्टि भएका छन् ।

भारतमा धेरैजसो केस केरलामा पुष्टि भएका छन् । केरलापछि गुजरात, पश्चिम बंगाल र दिल्लीमा सबैभन्दा बढी केसहरू रिपोर्ट गरिएका छन् । मन्त्रालयका अनुसार यस वर्ष हालसम्म देशमा कोरोनाका कारण ५५ जनाको मृत्यु भइसकेको छ ।

पर्सामा सतर्कता

कोभिडको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै पर्सासँग सीमा जोडिएका नाकामा जाँचलाई प्रभावकारी बनाइने भएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भारत तथा नेपालका विभिन्न स्थानमा कोभिडका सङ्क्रमित बिरामी देखापरेकाले कोभिडको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सीमा क्षेत्रमा स्वास्थ्य सतर्कता अपनाइएको छ ।

‘भारतीय भूमिबाट प्रवेश गर्ने यात्रुहरूलाई लक्षित गरी स्थापना गरिएको हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउने, आवश्यकताअनुसार उक्त हेल्थ डेस्कमा सुरक्षाकर्मीलगायत जनशक्ति समेत खटाई व्यवस्थित रुपमा स्क्रिनिङ गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ’, उनले भने ।

ADV

सम्बन्धित खबर