२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

डडेल्धुरा पूर्ण खोप सुनिश्चत जिल्ला घोषणा

ADV
दिपकराज भट्ट
२०८१ असार २६ गते १९:३१
डडेल्धुरा पूर्ण खोप सुनिश्चत जिल्ला घोषणा

डडेल्धुरा : सुदुरपश्चिमको केन्द्रमा रहेको डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । बुधबार एक औपचारिक कार्यक्रमकाबीच जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का प्रमुख अतिथि रहेकी थिइन् । खड्काले ब्यानर वाचन गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेकी हुन् । 

स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर बहादुर साउदले बालबालिकाले पाउनुपर्ने खोपका सबै सूचकांक पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा औपचारिक रुपमै गरिएको बताए । नेपालमा सरकारले १३ प्रकारका खोप निःशुल्क रूपमा उपलब्ध गराउने उनले बताए । यी अधिकांश खोप शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ । डडेल्धुरालाई पहिलोपटक २०७२ मा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो । 

डडेल्धुरा जिल्लामा हाल १०६ वटा खोप केन्द्रबाट प्रत्येक महिना २ गतेदेखि ८ गतेसम्म नियमित खोप सेवा प्रवाह हुँदै आइरहेको जनस्वास्थ्य अधिकृत साउदले बताए । उनका अनुसार जिल्लामा जन्मिएदेखि १५ महिनाका २ हजार ६ सय १ र १६ देखि ५९ महिनाका बालबालिकाको संख्या ८ हजार ९२ रहेको छ ।

जिल्लामा खोप छुटेका सबै बालबालिकाहरूलाई वैशाख महिनासम्म राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप लगाइ वैशाख महिनालाई खोप महिनाको रूपमा मनाइएको थियो । 

खोप कार्यक्रमले बाल मृत्युदर घटाउन, रुग्णता दर घटाउन र अपांगता हुनबाट जोगाउन सफल भएको दाबी गरिएको छ । स्वास्थ्य निर्देशनालय राजपुर डोटीका जनस्वास्थ्य अधिकृत धीरेन्द्र नाथले जिल्लालाई पूर्ण खोप सुनिश्चितता गराउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले बालबालिकाका लागि खोप उपयुक्त रहेकोले अनिवार्य खोप लगाउनुपर्ने बताए ।

कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नमा महिला स्वमंसेविकाको भूमिका अहम् रहेको बताए । उनले सबै बालबालिकालाई खोपको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

अजयमेरू गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट(विकास)ले स्वास्थ्य क्षेत्रमा विभिन्न चुनौती थपिएको बताए । उनले ग्रामीण भेगमा रहेका बर्थिङ सेन्टर व्यवस्थित नहुन नसकेको औंल्याए । घामपानी नभनेर सेवामा खटिने स्वास्थ्यकर्मीले पाउने भत्ता माथिबाटै कटौती हुँदै आएकोमा दुःख व्यक्त गरे । उनले प्रदेश सरकारले औषधि पठाउँदा समयमै पठाउनुपर्ने बताए ।

कार्यक्रमकी प्रमुख अतिथि प्रदेशसभा सदस्य सरस्वती खड्काले महिला स्वास्थ्य स्वयंसेविकाहरूले पूर्ण खोप घोषणाका लागि गरेको काम निकै उदाहरणीय र प्रशंसायोग्य रहेको बताइन् । उनले स्वास्थ्य क्षेत्र संवेदनशील भएपनि बजेट कम विनियोजना हुने गरेको बताइन् । उनले आएको बजेटलाई सही ढंगबाट खर्च गर्नुपर्नेमा जोड दिइन् । 

जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक गगनसिंह भण्डारीले खोप पाउनु बालबालिका नैसर्गिंक अधिकार भएको बताए । स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा राम्रो गरेको भन्दै उनले प्रशंसा गरे । खोप कार्ड सुरक्षित राख्न अभिभावकलाई सचेत गराउनुपर्ने उनको भनाइ छ । खोपको प्रभावकारिता सबैलाई बुझाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न महत्वपूर्ण भूमिका खेल्ने उत्कृष्ट खोपकर्ता र स्थानीय तहलाई दोसल्ला ओडाएर प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । 

प्रमुख अतिथि खड्काले जिल्लालाई पूर्ण खोप सुनिश्चितताको रुपमा घोषणा गर्नु पाउँदा खुसी भएको बताइन् । यस्तै यस अभियानमा निरन्तर खटिने स्वास्थ्यकर्मी, जनप्रतिनिधि र आम नागरिकहरुलाई धन्यवाद समेत ज्ञापन गरेकी छिन् । यस कार्यक्रमले जिल्लामा आम नागरिकहरुको चेतनामा वृद्धि भएको उनको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise