रौतहट : रौतहटको राजपुर नगरपालिका वडा नम्बर ४ मा एक युवकको शंकास्पद मृत्यु भएको छ । मृतक ३५ वर्षीय शेख असलमको शव शनिबार साँझ उनकै घरमा फेला परेको हो ।
परिवारका अनुसार असलम नियमित रूपमा रक्सी सेवन गर्ने गर्थे । शुक्रबार साँझ पनि उनी रक्सी सेवन गरिरहेको अवस्थामा थिए । त्यसै राति उनकी श्रीमती बिरामी सानो छोरीको उपचारका लागि वीरगन्ज गएकी थिइन् । असलम भने घरमै सुतिरहेका थिए ।
शनिबार बिहान बच्चाहरूले "बाबा" भन्दै उठाउने प्रयास गर्दा पनि असलम उठेनन् । केही समयपछि घर फर्केकी श्रीमतीले श्रीमानको ज्यान गइसकेको अवस्था देखेकी हुन् ।
शुक्रबारका दिन केही व्यक्तिहरूले असलमलाई चोरीको आशंकामा घरमै थुनेर कुटपिट गरेको स्रोतको दाबी छ । पछि उनलाई राजपुर इलाका प्रहरी कार्यालयमा बुझाइएको थियो । प्रहरीका अनुसार उनलाई सोधपुछपछि प्रमाण नपाई ३० मिनेटभित्रै छाडिएको थियो ।
शनिबार साँझ उनी मृत अवस्थामा फेला परेपछि घटनालाई लिएर परिवार र स्थानीयहरूबीच गहिरो आशंका उत्पन्न भएको छ । असलमको गाउँमा चिनेजानेका मानिसहरूसँग ५–१० रुपैयाँ माग्ने बानी रहेको र कहिलेकाहीँ डोलडाल गर्ने गरेको पनि स्थानीयहरूले बताएका छन् ।
स्थानीय बासिन्दा र समाजसेवीहरूले घटनालाई गम्भीर रूपमा लिएर निष्पक्ष र गहिरो अनुसन्धान गर्न माग गरेका छन् । घटनाको यथार्थ पत्ता लगाउन प्रहरी प्रशासनले छानबिनलाई तीव्रता दिनुपर्नेमा स्थानीयहरूले जोड दिएका छन् ।