
काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।
शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा. रत्नबहादुर बागचन्दको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।
समितिका सभापति बोधनारायण श्रेष्ठले चारै जना प्रस्तावित न्यायाधीशको नाम अनुमोदन गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
न्यायपरिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश रहेका उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
चारै जनाको संसदीय सुनुवाइ प्रक्रिया शनिबार नै सम्पन्न भएको थियो । सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित न्यायाधीशहरूसँग न्यायिक क्षेत्र, कार्यसम्पादन तथा विभिन्न समसामयिक विषयमा प्रश्न गरेका थिए ।
सुनुवाइ प्रक्रिया पूरा भएपछि समितिले उनीहरूको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै अब उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने बाटो खुलेको छ। संवैधानिक व्यवस्थाअनुसार अब राष्ट्रपतिले उनीहरूलाई नियुक्त गर्नेछन् ।