सुर्खेतमा राउटे किशोरीहरुमाथि भएको यौन हिंसाको भिडियो सार्वजनिक भएपछि नेपाल प्रहरीले अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाएको छ । दुई किशोरीलाई मादकपदार्थ सेवन गराइ दूव्र्यबहार गरेको भिडियो यूट्युब मार्फत् सार्वजनिक भएको छ । फिरन्ते जीवनशैली अपनाउने लोपोन्मुख समुदायकी दुई किशोरीलाई प्रभावमा पारेर मादक पदार्थ सेवन गराइ होटलमा लगिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । होटल लगेर दूव्र्यबहार गर्ने देखि यौन हिंसा समेत भएको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो । प्रहरीले होटल सञ्चालक २९ वर्षीय विनोद पुन, गुर्भाकोट–९ का ३५ वर्षीय दमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तर अनुसन्धान र कारबाही प्रक्रिया सहज नहुन सक्छ । किनभने यो समुदायले हिंसा विरुद्ध प्रतिवाद नगर्न सक्छन् । पीडित पक्षबाट अनुसन्धानमा सहयोगको अपेक्षा न्यून हुनसक्छ । त्यसैपनि यो समुदायसँग राज्यको सम्बन्ध आकाश पातालको फरक छ । न अपेक्षा गर्छन्, न आक्रोश व्यक्त गर्न सक्छन् । बरू, यिनै समुदायको नाममा कतिपयको ब्यापार चलिरहेको टिप्पणी सुनिने गरेको छ । अहिले यौन हिंसामा परेको भिडियो सार्वजनिक भएपछि मात्रै प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । पीडित आफैले उजुरी गर्न सक्ने अवस्थाबारे नेपाली समाज सम्बन्धी थोरै ज्ञान राख्नेले सहजै अनुमान लगाउन सक्छन् । तर पीडक पक्ष भने राज्य संयन्त्रसँग सहज पहुँज राख्न सक्ने अवस्था देखिन्छ । होटल व्यवसाय सञ्चालन गर्ने व्यक्तिहरु राउटे समुदाय भन्दा कयौं गुणा सम्बन्ध, प्रभाव र आवाज राख्न सक्छन् । यसबारे आँखा चिम्लेर दावी गर्ने पर्याप्त आधार छ ।
तर अलग समुदायमा रहेकी र सामाजिक सञ्जालबाट ठूलो पंक्तिको मनमा बसेकी राउटे किशोरीहरुले हिंसाको प्रतिकार गर्न सक्ने अवस्था रहन्न । प्रमाण र घटनाक्रमबारे भाती पु¥याएर बोल्न नसक्न सक्छन् । यस्तो अवस्था र परिस्थितिबारे अर्धन्यायिक निकाय मानिने जनप्रतिनिधि, प्रहरी प्रशासन र सरोकारवालाहरुले बोलिदिनु पर्छ । त्यसै पनि महिला हिंसाका घटनाको ग्राफ घट्न सकेको छैन । विश्वव्यापी कोरोना महामारीका कारण हिंसाका घटना पनि बढेको छ । अझ राउटे समुदायकै किशोरी माथि भएको अपराधमा संलग्नलाई कानूनी कठघरामा उभ्याउन जरुरी छ । अध्यात्मिक चिन्तनमा विश्वास गर्नेहरुको भाषामा यी किशोरीहरुमाथि मिल्ने न्यायबाट सायद भगवान पनि खुशी हुनेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies