काठमाडौं : विदेशी लगानीकर्ताले विदेशी मुद्रा नेपाल भित्र्याउन अब अनिवार्य रुपमा नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिनु नपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले मंगलबार जारी गरेको ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा यस्तो व्यवस्था गरिएको हो ।
विदेशी लगानी भित्र्याउनका लागि पूर्व स्वीकृत लिनु नपरेपनि स्वीकृत भएपश्चात विदेशी मुद्रा भित्र्याएको लिखित जानकारी भने राष्ट्र बैंकलाई गराउनुपर्ने छ । राष्ट्र बैंकले गत माघमा नै यो प्रस्ताव गरेको थियो । माघमा विनियमावली तयार पारेपनि स्वीकृत भने गरिएको थिएन ।
माघमा तयार पारेको विनियमावलीलाई राष्ट्र बैंकले मंगलबार स्वीकृत गरेको हो । योसँगै अब विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिवार्य हुने छैन ।
तर, विदेशी लगानी स्वीकृत भए पश्चात विदेशी मुद्रा भित्र्याउनु वा पठाउनु पूर्व भने राष्टबैंकलाई लिखित जानकारी भने दिनु पर्नेछ । विदेशी ऋण लिन भने राष्ट्र बैंकको स्वीकृति लिनु पर्छ । १५ दिनभित्र स्वीकृति उपलब्ध गराइने छ। ऋण लेखांकन ६ महिनाभित्र गर्नुपर्छ ।
भुक्तानी तालिका तोकेर ऋण आएको छ भने बैंक तथा वित्तीय संस्थाबाटै भुक्तानी हुनेछ । त्यसका लागि राष्ट्र बैंक धाउनुपर्ने व्यवस्थामा पनि सुधार गरिएको छ ।
यसैगरी शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानीबापतको विदेशी मुद्रा नेपाल भित्र्याउन भने राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्नेछ । सोका लागि विदेशी लगानी हुने उद्योग/कम्पनी वा विदेशी लगानीकर्ताले आवश्यक कागजातका साथ निवदेन पेस गर्नुपर्नेछ ।
यो विनियमावली लागू हुनुपूर्व भित्रिएको तर लेखांकन भइनसकेको विदेशी ऋणबापतको रकमको लेखांकनका लागि समेत यो विनियमावली लागू भएको मितिबाट बढीमा एक वर्षभित्र आवश्यक कागजातसहित विभागमा निवेदन पेस गर्नुपर्नेछ ।
आवश्यक सम्पूर्ण कागजातसहित निवेदन प्राप्त भएको मितिले सात कार्य दिनभित्र राष्ट्र बैंकले सोसम्बन्धी निर्णय गरी लेखांकनको प्रमाणपत्र उपलब्ध गराउनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies