काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि संसद अवरोध जारी राखेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा दुवै पार्टीका सांसदहरुले उठेर विरोध जनाएका हुन् ।
सभामुखले सदनको कारबाही सुरु गरेसँगै उनीहरुले उठेर विरोध जनाए । सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्की भण्डारीलाई बोल्न समय दिएपछि सांसद भण्डारीले भिजिट भिसाको आवरणमा ट्राभल एजेन्सी, एयरलाइन्सहरु, अध्यागन विभाग र गृह मन्त्रालयसमेत संलग्न रहेको भन्दै मानव तस्करी भएको बताइन् । उनले यसले नेपालको इज्जत र गरिमा धुमिल बनाएको बताइन् ।
अपराधिक क्रियाकलापविरुद्ध रास्वपाले निरन्तर आवाज उठाइरहेको तर सरकारले गम्भीरतापूर्वक नलिएको उनले बताइन् । उनले २०६४ सालदेखि यो समस्या रहेकाले यसको जालो अब च्यात्नुपर्ने बताइन् ।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाइ दोषीमाथि कारबाही गरी सुशासन स्थापना गर्न उनले आग्रह गरिन् । सरकारले रोष्टमबाट धम्क्याएको बताउँदै गृहमन्त्रीलाई आफूहरुले अपराधी नभनेको उनले बताइन् ।
उनले भिजिट भिसाको आवरणमा रहेको मानव तस्करीको जालो च्यात्न र ठगिएका नागरिकलाई न्याय दिन उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्न माग गरिन् ।