अर्घाखाँची : शितगंगा नगरपालिका अर्घाखाँची भौगोलिक हिसाबले नेपालीको सबैभन्दा ठूलो नगरपालिकाको रुपमा परिचित स्थानीय तह हो । नगरपालिकामा दक्ष जनशक्तिको निकै अभाव रहेको भएपनि नगरपालिकाका केही कर्मचारीहरु रातदिन नभनी काममा खटिने गरेपछि नगरपालिकामा कामले गति लिने गरेको छ ।
नगरपालिकामा बिहान ७ बजेदेखि राति ९ बजेसम्म दैनिक बिदाको दिन समेत नगरपालिकाको योजनाहरुको काम गर्ने कर्मचारीको रुपमा परिचित ब्यक्ति हुन् नगरपालिकाका योजना अधिकृत नुमलाल खनाल ।
शीतगंगा नगरपालिकाले संविधानले दिएको अधिकार प्रयोग गर्दै स्थानीय पूर्वाधार विकास, सेवाप्रवाह र अनुगमन तथा नियमनलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्दै आएको योजना अधिकृत खनाल बताउँछन् । खनाल भन्छन्–‘स्थानीय पूर्वाधार विकासका सन्दर्भमा नगरपालिकाले तर्जुमा गरेको दशवर्षे आवधिक विकास योजना अनुसार वार्षिक बजेटमा पूर्वाधारका आयोजनाहरु समावेश गरी कार्यान्वयन गर्दै आएका छौं’ उनी थप्छन् ‘हामी दैनिक योजना अनुगमनमा समेत खट्ने गरेका छौं ।’
सेवा प्रवाहतर्फ १४ वडा कार्यालयबाट प्रशासनिक काम हुँदै आएको छ । योजनाहरु वडामा सम्झौता गर्ने, सबै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने, योजनाको पारदर्शिताको लागि सार्वजनिक सुनुवाइ गर्ने, जनताका गुनासा अनुसार विकाश निर्माणका कामहरु गर्ने नगरपालिकाको नीति अनुसार कामलाई द्रुत गतिमा अगाडि बढाएको अधिकृत खनालको दाबि छ ।
नगरका १०९ वटा सामुदायिक विद्यालय र २ वटा सामुदायिक सिकाई केन्द्रबाट शिक्षा सम्बन्धी सेवा र ३७ वटा स्वास्थ्य संस्थाबाट स्वास्थ्य सँग सम्बन्धित विविध सेवाहरु प्रदान गर्दै आएको योजना अधिकृत खनालले जानकारी दिए ।
त्यसैगरी नगरपालिकाका १४ वटा विषयगत शाखाबाट समेत आ–आफ्नो विषयगत क्षेत्र अनुसार नीतिनिर्माण र कार्यान्वयन हुँदै आएको भएपनि भौगोलिक हिसाबले काम गर्न विकास गर्न समस्या हुने गरेको खनालले बताए । विकास निर्माणलाई तोकिएको समय, लागत र गुणस्तरमा सम्पन्नगर्न नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत लगायत आवश्यकताअनुसार अन्य कर्मचारीहरुबाट समेत अनुगमनको काम निरन्तर गरिएको छ । कामको गुणस्तर कायम गर्न प्राविधिक कर्मचारीहरुलाई विशेष सचेत गराइएको छ भने अनुगमनका चरणमा समेत गुणस्तरमा ध्यान दिइएको छ । यसरी नगरपालिकाबाट प्रदान गरिने सबै किसिमका सेवाहरु सरल तथा प्रभावकारी ढंगबाट प्रदान गर्न नगरपालिकाले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरी कार्य सम्पादन गर्दै आएको छ ।
नगरपालिकामा आन्तरिक स्रोतको सम्भावना धेरै भएपनि पैसा उठाउन समस्या छ । टेन्डर लगाएका खोलाहरुबाट नदीजन्य पदार्थ निकासी गर्न कपिलवस्तुको शिवराजले अवरोध गरेपछि विकासका कामहरु प्रभावित भएका छन् ।
नगरपालिका कामको हिसाबले योजना अधिकृत खनालको भरमा अगाडि बढेको छ । निकै सरल स्वभाव सबै सेवाग्राहीको मन जित्न सफल खनाललाई फाँटमा नदेखे सेवाग्राहीले उनलाई नै पर्खन्छन् । साविक जिल्ला विकासको कर्मचारीबाट स्थानीय तह बनेपछि शितगंगा नगरपालिकामा योजना अधिकृतको रुपमा समायोजन भएका अधिकृत खनाल जिल्लाबासीका लोकप्रिय अनुभवी कर्मचारीको रुपमा परिचित छन् ।