२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

४ कृषकसहित उपभोक्ता, विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

shivam cement
मध्यान्ह
२०८२ असार ४ गते ०९:०९
४ कृषकसहित उपभोक्ता, विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

खोटाङ : खोटेहाङ गाउँपालिकाले उत्कृष्ट चार कृषकसहित विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ ।

अन्नबाली, फलफूल र नगदे बाली तथा पशुपन्छी पालनमा उत्कृष्ट कृषक, सबैभन्दा बढी अंक ल्याउने विद्यार्थी, उत्कृष्ट निर्माण उपभोक्ता समिति, उत्कृष्ट शिक्षक तथा विद्यालय र उत्कृष्ट कर्मचारीलाई गाउँपालिकाले बिहीबार पुरस्कृत गरेको हो ।

गाउँपालिकामा सबैभन्दा बढी अन्नबाली उत्पादन गर्ने वडा नं ७ खोटाङबजारका बमबहादुर नेपाली, फलफूल उत्पादन गर्ने वडा नं १ लिकुवा पोखरीका मणिकुमार राई, नगदे बाली उत्पादन गर्ने वडा नं ३ सावाकटहरेका बलजित राई तथा पशुपन्छी पालनमा सबैभन्दा उत्कृष्ट हुने वडा नं ८ सिम्पानीका रामकुमार पोखरेललाई गाउँपालिकाले पुरस्कृत गरेको छ । उत्कृष्ट कृषकलाई जनही नगद रु. १५/१५ हजारको साथमा सम्मान पत्र प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिएका छन् ।

गाउँपालिकाले आयोजना गरेको वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसरमा उत्कृष्ट अंक ल्याएर कक्षा–१२ उत्तीर्ण गर्ने राधा सिग्देल, माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्ने कृष्ण बुढाथोकी र गाउँपालिकाले सञ्चालन गरेको कक्षा–८ को परीक्षामा उत्कृष्ट अंका ल्याउने अनुपमा बस्नेत पुरस्कृत भएका छन् । पुरस्कृत विद्यार्थीहरूलाई जनही नगद रु. सात/सात हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा माध्यमिक तहका वर्ष उत्कृष्ट शिक्षकमा सिम्पानी माध्यमिक विद्यालय सिम्पानीका जगत बस्नेत, निम्न माध्यमिक तहका वर्ष शिक्षकमा विणा माध्यमिक विद्यालय लिकुवा पोखरीका मिलन तामाङ र प्राथमिक तहका वर्ष उत्कृष्ट शिक्षकमा माहांकला माध्यमिक विद्यालय लिच्कीराम्चेका देवेन्द्र चौधरी पुरस्कृत भएका छन् । पुरस्कृत शिक्षकहरूलाई जनही नगद रु. सात/सात हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सामुदायिक विद्यालयतर्फ उत्कृष्ट लेखा कर्मचारीमा ईश्वर श्रेष्ठ, बाल विकास सहजकर्तामा रोजिना राई र कार्यालय सहयोगीमा विपिन रोक्कालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुने लेखा कर्मचारी, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीलाई जनही नगद रु. सात/सात हजारको साथमा प्रमाणपत्र प्रदान गरेको छ । 

विद्यालयतर्फ वर्ष उत्कृष्ट हुने माध्यमिक तहको विद्यालयमा भगवती दिनानाथ माध्यमिक विद्यालय खोटाङबजार, निम्न माध्यमिक तहको वर्ष उत्कृष्ट हुने विद्यालयमा सिद्ध आधारभूत विद्यालय खोटाङ बजारलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुने विद्यालयलाई जनही नगद रु. १५/१५ हजारको साथमा प्रमाणपत्र प्रदान गरेको छ । 

गाउँपालिकाले यस वर्ष गठन गरिएको निर्माण उपभोक्ता समितिमध्ये सबैभन्दा उत्कृष्ट काम गर्ने निर्माण उपभोक्ता समितिलाई पुरस्कृत गरेको छ । ईलाका प्रशासन कार्यालय भवन निर्माण उपभोक्ता समितिले तोकिएको भन्दा बढी र गुणस्तरीय काम गरेको भन्दै उपभोक्ता समितिका अध्यक्ष तिलकबहादुर कामीलाई नगद रु. १५ हजारको साथमा प्रमाणपत्रसहित पुरस्कृत गरेको हो ।

वर्ष उत्कृष्ट कर्मचारीतर्फ एमआइएस अपरेटर रोशन पौडेल, उत्कृष्ट स्वास्थ्यकर्मीतर्फ आधारभूत अस्पताल इन्द्रेणीपोखरीका हेल्थ असिस्टेन्ट सुमन दाहाल र उत्कृष्ट कार्यालय सहयोगीतर्फ आधारभूत अस्पताल इन्द्रेणीपोखरीकै केदार कार्कीलाई पुरस्कृत गरेको छ । गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा पुरस्कृत व्यक्ति तथा संस्थालाई गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेश राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले नगदसहित पुरस्कार वितरण गरेका हुन् ।

आफूले गरेको कामलाई गाउँपालिकाले मूल्यांकन गरेर पुरस्कृत गर्दा थप जिम्मेवार बन्नका लागि हौसला मिलेको पुरस्कृतहरुमध्येबाट धारण राख्ने बलजित राईले प्रतिक्रिया दिएका छन् । “किसा भन्ने बित्तिकै हेयको दृष्टिले हेर्नै चलन छ”, उनले भने, “म कृषक हुँ, मलाई आफू कृषक हुनुमा गर्व लाग्छ । स्थानीय सरकारले पुरस्कृत गर्दा थप हौसाला मिलेको छ ।”

गाउँपालिकाको समग्र विकासका लागि विभिन्न विद्या निर्धारण गरेर वर्ष उत्कृष्ट व्यक्ति तथा संस्थालाई प्रोत्साहन स्वरूप पुरस्कृत गरिएको गाउँपालिका प्रमुख मुक्तिले बताएका छन्। गाउँपालिकाको सार्वजनिक सुनुवाइ तथा पुरस्कार वितरण कार्यक्रममा राजनीतिक दल, सरोकारवाला निकाय, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise