म्याग्दी : बेनी नगरपालिका-४ सिंगा तातोपानीस्थित सरस्वती माविका विद्यार्थीहरूलाई ‘हाउस वायरिङ’सम्बन्धी सिकाइएको छ ।
बेनी नगरपालिकाको ‘उइ क्यान, उइ डु’ हामी सक्छौँ, हामी गर्छौँ कार्यक्रममार्फत सरस्वती माविको ८, ९ र १० कक्षाका विद्यार्थीलाई घर तथा भवनमा ‘वायरिङ’ गर्ने सीप सिकाइएको हो । बीस दिनसम्म सञ्चालन भएको तालिममा १९ जना विद्यार्थी सहभागी भएका प्रधानाध्यापक गुरुदत्त पौडेलले जानकारी दिए ।
बेनीका अर्जुन ढुंगानाले घर तथा भवनमा विद्युत् जडानसम्बन्धी सैद्धान्तिक र व्यवहारिक विषयमा सहजीकरण गरेका थिए । तालिममा सहभागी कक्षा ८ का विद्यार्थी जोन पुनले घर, समाजमा दिनानुदिन आवश्यक पर्ने व्यवहारिक सीप हासिल गर्न पाएकोमा खुसी व्यक्त गरे ।
तालिममा सिकेको आधारभूत सीपले घर, छिमेकमा आवश्यक पर्दा काम फुकाउन सक्ने र भविष्यमा आफैँ स्वरोजगार बन्न पनि सहयोग पुग्ने उनले बताए । विद्यालय समय सकिएपछि हरेक अपराह्न ४ देखि ६ बजेसम्म विद्यालयमै तालिम सञ्चालन भएको थियो ।
माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्यालयमै सीप सिकाएर विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न बेनी नगरपालिकाले हामी सक्छौँ, हामी गछौँ कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रम सञ्चालन गर्न बेनी नगरपालिकाका १६ वटा विद्यालयलाई रु. एक/एक लाखका दरले रु. १६ लाख बजेट विनियोजन भएको थियो । बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब ५०० जना विद्यार्थी सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको नगर प्रमुख सुरत केसीले बताए ।