सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा बिउ बिजन उत्पादन, आपूर्ति तथा व्यवस्थापन निर्देशिका, २०७८ तथा विद्युतीय बिउ बिजन प्रणालीसम्बन्धी ३ दिने अभिमुखीकरण सुरु भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एकीकृत कृषि प्रयोगशालाको आयोजनामा बिहीबारदेखि अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।
कर्णाली प्रदेश अन्तर्गत जिल्लास्थित कृषि हेर्ने कार्यालय तथा प्रादेशिक बिउ बिजन प्रयोगशालामा कार्यरत कर्मचारी र स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई अभिमुखीकरण दिइने प्रयोगशाला प्रमुख चित्रबहादुर रोकायले जानकारी दिए ।
उनकाअनुसार बिहीबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम शनिबार अर्थात् तीन दिनसम्म चल्ने छ। अभिमुखीकरण कार्यक्रममा कर्णाली प्रदेश अन्तर्गत जिल्लास्थित कृषि हेर्ने कार्यालय तथा प्रादेशिक बिउ बिजन प्रयोगशालामा कार्यरत कर्मचारी र स्थानीय तहमा कार्यरत गरी ५४ भन्दा बढी कर्मचारीहरुको सहभागीता रहेको प्रमुख रोकायले बताए । उनकाअनुसार तीन वटै तहका सरकारलाई एकआपसमा जोड्नका लागि सहयोग गर्नेछ ।
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले अभिमुखीकरण कार्यक्रमको उद्घाटन गरे । उद्घाटन सत्रमा बोल्दै मन्त्री शाहले अभिमुखीकरणमा सहभागीहरुलाई अन्तरक्रियात्मक र छलफलमा बढी केन्द्रित हुन सुझाव दिए ।
कर्णाली सरकारले बिउ बिजन ऐन बनाइसकेको र नियमावली बनाउनका लगि सरकार तयार रहेको मन्त्री शाहले बताए । उनले भने, ‘बिउ उत्पादनको हब कर्णाली बनाउन पर्छ । जसले बिउ निर्यात गरी कर्णाली आर्थिकरुपमा सवल बन्न पनि सक्छ । त्यसैले स्वस्थ गुणस्तरयुक्त बिउ उत्पादनमा हामीले अभियान चलाउनुपर्छ ।’
यस्तै, मन्त्री शाहले अभिमुखीकरण कार्यक्रममा सिकेको ज्ञानलाई प्रत्येक सहभागी कर्मचारीहरुले सम्बन्धित क्षेत्रमा लागू गरेर देखाउनुपर्ने बताए । साथै उनले सबैको कार्यक्षेत्र स्थानीय तह भएको, तर स्थानीय तह कृषिका क्षेत्रमा उदासीन रहेको उल्लेख गरे ।