बिकाश काफ्ले/मध्यान्ह
पाल्पा : जिल्लाको रिब्दीकोट–२, लघुवामा दुई वटा टिपर आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । टिपर दुर्घटनामा परी गुल्मी जिल्ला रुरु गाउँपालिका–२, का ४५ वर्षीय टंकबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा परी गुल्मी जिल्ला रुरु गाउँपालिका–२, बस्ते ३८ वर्षका अशोक कुँवर, सोही स्थानका ४२ वर्षीया रमा कुँवर, ललितपुर जिल्लाका २६ वर्षीय राजेन्द्र बजगाई र नवलपरासी जिल्ला सुनवल–९, बस्ने २२ वर्षका किसन कुँवर घाइते भएका छन् । घाइते अधिकांशको अवस्था सामान्य रहेको छ । घाइते चारै जनाको उपचार अहिले तानसेनस्थित मिसन अस्पतालमा भैरहेको छ ।
आइतबार दिउँशो तानसेन–तम्घास सडकखण्डमा तानसेनदेखि तम्घासतर्फ जाँदै गरेको बा. ४ ख ७३२० नम्बरको टिपर र सोही दिशातर्फ गइरहेको प्रदेश ३–००१ क ०२५० नम्बरको टिपर आपसमा ठोक्किएको थियो । टिपर सडकदेखि २०० मीटर तल खसेको प्रहरीले जनाएको छ ।
सिमेन्ट लिएर गुल्मीतर्फ जाँदै गरेको टिपर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले मध्यान्हलाई जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies