भक्तपुर : चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेल बसपार्कस्थित १९ रोपनी १० आना सार्वजनिक जग्गा व्यक्तिको नामबाट फिर्ता ल्याएर काल भैरबको मूर्ति स्थापना गरिएको छ ।
४७ नम्बर कित्ता रहेको उक्त सार्वजनिक जग्गालाई २०४२ सालमा व्यक्तिको नाममा दर्ता गरिएको थियो । त्यसपछि विभिन्न व्यक्तिमा हक हस्तान्तरण भएको स्थानीयवासीले थाहा पाएपछि २०६०/६१ सालमा उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।
अनुसन्धान पश्चात आयोगले जिल्ला मालपोत कार्यालय भक्तपुरका नाममा व्यक्तिको नाममा भएको दर्ता खारेज गरी सार्वजनिक जग्गा कायम गर्न पत्राचार गरेको थियो । यसरी दर्ता खारेज भएपछि उक्त जग्गा सरकारकै नाममा कायम भएको थियो ।
जग्गामा स्थानीय सरकारको पहल र स्थानीय नागरिकको सहभागितामा कालभैरवको विशाल मूर्ति स्थापना गरेको चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेलका वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए ।
वडाध्यक्ष कार्कीले भने, ‘व्यक्तिको नाममा दर्ता भएको सार्वजनिक जग्गा स्थानीयवासीकै पहलमा पुनः सार्वजनिक रूपमा सरकारकै नाममा फिर्ता गरेपछि यो जग्गाको संरक्षण गर्न स्थानीय सरकार र स्थानीयवासी एक भएर लागेका थियौं । यही साता उक्त जग्गामा ढुंगाको विशाल कालभैरबको मूर्ति स्थापना ग¥यौं । प्राणप्रतिष्ठा पनि ग¥यौं । २ लाख ५० हजारको लागतमा निर्माण सम्पन्न भएको छ ।’
उक्त क्षेत्रमा थप भौतिक संरचना निर्माण हुने क्रम रहेको उनको भनाइ छ ।
अब करिब २० लाखमा अर्को एउटा मन्दिर निर्माण गर्ने, करिब २० लाखकै लागतका अर्को बहुउदेश्यीय सामुदायिक भवन पनि निर्माण गर्ने उनले जानकारी दिए ।