२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कविता : पछुताउनुको विकल्प रहने छैन

shivam cement
२०८२ असार ७ गते ०६:००
Shares
कविता : पछुताउनुको विकल्प रहने छैन

– शैलेन्द्र थापा

सपनाका बेर्ना उमारेर
हावामा बाली लगाई
महलको उपरि तलामा बसेर
फसल उठाउनेहरूबाट
मेरो देशमा
शान्ति र समृद्धि अपहरण भएको
शताब्दी नाघिसकेको छ
यहाँ भइरहेका स्थानीय वा परम्परागत
तन्त्र नामका नस्लहरूबाट
लयालु र दुधालु बाच्छा बाच्छिहरू
उत्पादन हुन नसकेको ठहर गर्दै
सुधार गर्ने उद्देश्य राखेर
गणतन्त्र नामको उन्नत साँडे
गोठमा भित्र्याए पछि
नवीनताको अनुभूति होला भन्ने
झिनो आशा पनि त्यतिबेला मरेर गयो
जति बेला
साँढेले सिँगौरी खेलेर
गोठ, चरन र बचेखुचेको आली बाली
ध्वस्त बनाउन थाल्यो
अब त यस्तो लाग्न थाल्यो
साँढेको झर्ला र खाउँला भनेर
पछि लागेको स्याल
भोकको वेदनामा छटपटिएर
मरणासन्न भएपछि
किम् किंकर्तव्यविमूढ
बाटामा लम्पसार परेर
देह त्याग गरेको कथा
यहाँ पुनरावृत्ति हुँदै छ
अति सर्वत्र वर्जित हुन्छ
जो यो बुझ्दैन कुना पसि रुन्छ
उखान बुझेर
साँढेको छाडापनको भ्रूणबाट
निरंकुशता जन्मिन नदिने हो भने
त्यस्तो भ्रूण तुहाउनु जरुरी छ
अन्यथा पछि पछुताउनुको
विकल्प रहने छैन
यहाँ निरंकुशताका खेतालाले
त्यो संकेत देखाइ सकेका छन् ।।

सम्बन्धित खबर