२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

प्यूठानका १२ सडकका लागि ६ करोड बजेट विनियोजन

Nada
सूर्यप्रसाद भुसाल
२०८२ असार ७ गते २१:५६
Shares
प्यूठानका १२ सडकका लागि ६ करोड बजेट विनियोजन

प्यूठान : लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानपानी मन्त्री तथा नेपाली कांग्रेसका युवा नेता रोज राणाको पहलमा गृहजिल्ला प्यूठानको १२ वटा सडकको लागि बहुवर्षीय योजनासहित ६ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसले प्यूठानमा विकासको गति थप द्रुत बनाउने र स्थानीयमा खुशीको लहर ल्याएको छ ।

ncell

मन्त्री राणाले असार १ गते सार्वजनिक गरेको २०८२/८३ को बजेटमा प्यूठानका सडक परियोजनालाई प्राथमिकताका साथ समेटिएको छ । 

प्यूठानका एक दर्जन सडकहरूमा एकै पटक बजेट विनियोजन गर्ने मन्त्री राणाको यो निर्णयले ठूलो चर्चा पाएको छ ।

मन्त्री राणाले चुनावी प्रतिबद्धताअनुसार प्यूठान जिल्लाका विभिन्न सडकहरूको स्तरोन्नति र सुधारका लागि पहल गरेका थिए । उनले चुवानी प्रचारका क्रममा भनेका थिए, ‘प्यूठानमा विकासको फड्को मार्ने र सबै सडकमा धुलो र हिलो अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै चुनावी प्रचार गरेको छु ।’ राणाले यी १२ सडकहरूको लागि प्रत्येकमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्, जसको कुल लागत ५९ करोड ८८ लाख रुपैयाँ अनुमान गरिएको छ ।

मन्त्री राणाले विभिन्न स्थानका सडकहरूको स्तरोन्नति, कालोपत्रे र सुधारको लागि बजेट विनियोजन गरेका छन् । प्यूठानका स्वर्गद्वारी नगरपालिका, झिमरुक गाउँपालिका, माण्डवी गाउँपालिका, मल्लरानी गाउँपालिका, नौबहिनी गाउँपालिका लगायतका स्थानहरूमा सडक सुधारका लागि बजेट विनियोजन गरिएको छ । यी परियोजनाले स्थानीय सञ्जाल, यातायात र नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ ।

मन्त्री राणाले लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूमा १५ करोड रुपैयाँभन्दा माथि र तराईका जिल्लामा २० करोड रुपैयाँको बजेट खानपानीका समस्या समाधानका लागि विनियोजन गरेका छन् । यसले मन्त्री राणाको प्रतिष्ठा थप बलियो बनाएको छ ।

यसअघि, मन्त्री राणाले बाग्दुला–मच्छी र दम्ती–धाइरे–अधेरी सडकखण्डका लागि बजेट विनियोजन गरेका थिए र यसका लागि उनले पैदल यात्रा गरी समस्याहरूको वास्तविकता बुझेका थिए ।

मन्त्री राणाको कार्यकालमा लुम्बिनी प्रदेशको बजेट अझै बढी प्रभावकारी र लक्षित क्षेत्रमा प्रयोग भइरहेको छ । प्यूठानलाई सबैभन्दा ठूलो बजेट प्राप्त गर्ने जिल्ला बनाउँदै उनले आफ्नो विकासोन्मुख कार्यदिशा स्पष्ट गरेका छन् ।
 

सम्बन्धित खबर