काठमाडौं : नेपाल रेडियोलोजिकल सोसाइटीले स्वास्थ्य मन्त्रालयको प्रस्तावित ओएनएमको विरोधमा प्रदर्शन गरेको छ । मंगलबार काठमाडौंको माइतीघर मण्डलामा उनीहरुले भेला भएर प्रदर्शन गरेका हुन् ।
उनीहरुले आफूहरुको पेशा मेट्ने नीति स्वीकार्य नरहेको बताए । उनीहरुले स्वास्थ्य मन्त्रालयको प्रस्तावित ओएनएम संशोधन गर्न भन्दै रेडियोग्राफी पेशाको पक्षमा एकताको प्रदर्शन गरेको जनाएका छन् ।
कार्यक्रममा नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले ज्ञापनपत्र दिएको दिनदेखि नै कालोपट्टी बाँधेर देशभर प्रदर्शन गरिरहेको भन्दै त्यसपछि पनि नेपाल सरकारले गम्भीरता नदेखाएको बताए । उनीहरुले आफूहरुको दरबन्दी कायम गर्न माग गरिरहेको बताए । ओएनएम फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनीहरुको चेतावनी छ ।
प्रदर्शनमा सहभागी भएकाहरुले 'स्वास्थ्य प्रणालीको मेरुदण्ड रेडियोग्राफरको आवाज सुन्ने बेला भयो', 'रेडियोग्राफी र रेडियोलोजी विभागलाई छुट्टाछुट्टै बनाइयोस्' लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका छन् ।