विराटनगर : विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार नगरसभाको १६औं अधिवेशनमा महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गर्दै पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता दिइएको बताइन् ।
बजेट स्रोततर्फ संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँटबाट १ अर्ब १९ करोड २० लाख, आन्तरिक स्रोतबाट १ अर्ब ४० करोड, नगद मौज्दात १४ करोड, संघीय सशर्त तथा समपूरक अनुदान ८३ करोड ३४ लाख, प्रदेश सशर्त अनुदान ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख र अन्य संघसंस्थाबाट १६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
महानगरको कुल बजेटमध्ये पूर्वाधार विकासका लागि १ अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ भने गौरवका आयोजना, बहुवर्षीय ठेक्का, सडक मर्मत सम्भार, विद्युतीकरण, भवन निर्माण, बस्ती विकास, फोहोर पानी प्रशोधन केन्द्रलगायतका योजना समेटिएको छ । वडास्तरीय योजना तथा कार्यक्रमका लागि मात्र ४३ करोड ५६ लाख ३२ हजार रुपैयाँ छुट्याइएको छ ।
सामाजिक विकासतर्फ शैक्षिक कार्यक्रममा ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्य सेवामा १५ करोड ३५ लाख, महिला र बालबालिका लक्षित कार्यक्रम, युवा तथा खेलकुद, जेष्ठ नागरिक, अपांगता, सामाजिक सुरक्षा तथा रोजगार प्रवद्र्धनलगायत कार्यक्रमका लागि छुट्टाछुट्टै बजेट विनियोजन गरिएको छ । कुल सामाजिक विकास बजेट १ अर्ब ८९ लाख ३० हजार पुगेको छ ।
त्यस्तै, कृषि, पशुपंक्षी, सहकारी तथा उद्यमशीलता विकासका कार्यक्रमअन्तर्गत ६ करोड ७९ लाख २५ हजार छुट्याइएको छ । विपद् व्यवस्थापनमा १ करोड २० लाख र वातावरण तथा जैविक विविधता संरक्षणमा २० लाख रुपैयाँ बजेट छुट्याइएको छ । सुशासन तथा संस्थागत विकासमा नगर प्रहरी, सञ्चार, सूचना प्रविधि र सेवा सुधारका कार्यक्रम समेटिँदै ३ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरको बजेटले पूर्वाधार र सामाजिक क्षेत्रलाई सन्तुलित प्राथमिकता दिदै विकास योजनाहरूलाई अगाडि बढाउने संकेत दिएको छ ।