२०८२ असार १३ गते शुक्रवार / Jun 27 , 2025 , Friday
२०८२ असार १३ गते शुक्रवार
Ads

भेप आयात तथा बिक्री वितरणमा सरकारले प्रतिबन्ध लगाउन नपाउने

shivam cement
मध्यान्ह
२०८२ असार १३ गते १४:१८
भेप आयात तथा बिक्री वितरणमा सरकारले प्रतिबन्ध लगाउन नपाउने

काठमाडौं : विद्युतीय चुरोट (भेप) आयात तथा बिक्री वितरणमा सरकारले प्रतिबन्ध लगाउन नपाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेपमा प्रतिबन्ध लगाउन खोजेपनि उच्च अदालतले त्यस्तो खाले कुनै रोकतोक नगर्न सरकारलाई आदेश दिएको हो ।

अर्थ मन्त्रालय, भन्सार विभागलगायतले भेपको आयात रोकेको भन्दै भेप मान्डु ट्रेडर्सले सञ्चार, अर्थ, स्वास्थ्य मन्त्रालय र भन्सार तथा वाणिज्य विभाग समेतलाई विपक्षी बनाएर उच्चमा रिट दायर गरेको मुद्दामा उच्चका न्यायाधीशद्वय कविप्रसाद न्यौपाने र हेमन्त रावलको संयुक्त इजलासले भेप आयात तथा बिक्री गर्न बाटो खुला गरिदिएको हो ।

अदालतले कुनै अवरोध नगर्न सरकारलाई भनेको छ । विद्युतीय चुरोट वा भेप प्रतिबन्धको प्रयास स्वरूप स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउँदै सम्बद्ध निकायहरूलाई परिपत्र समेत गरेको थियो ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को नियम २८ को उपनियम ३ अनुसार ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवर्द्धन तथा विज्ञापन गर्न पाउने छैन’ भनी उल्लेख भएकाले सो को पालना गराउन पत्राचार गरिएको केन्द्रले बताउँदै आएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, उद्योग तथा आपूर्ति मन्त्रालय र वाणिज्य तथा उपभोक्ता संरक्षण विभागलाई केन्द्रले परिपत्र गरेपनि उच्च अदालतको हालैको आदेशले त्यसरी नरोक्न सरकारलाई भनेको हो ।

त्यसो त, पछिल्लो समय भेपप्रतिको लत बढेर गएको देखिन्छ र नेपालमा पनि चीनसँग जोडिएको रसुवा र तातोपानी नाकाबाट आयात हुने गरेको छ । भेपबाट गत आर्थिक वर्षमा २३ करोड भन्दा बढी राजस्व संकलन भएको थियो । स्वास्थ्य मन्त्रालयले गरेको पत्राचारका आधारमा भन्सारहरुले भेपको जाँच पास गरेका थिएनन् ।

तर निकासी–पैठारी अनुमति दिने वाणिज्य विभागले भने मौन देखिँदै आएको थियो । स्वास्थ्य मन्त्रालयको पत्राचारको आधारमा जाँच पास रोकिँदै आएको थियो । जाँचपास रोकिएपछि चोरी पैठारी बढेको थियो । खासगरी आयातित भेपको ठूलो परिणाम दक्षिणी नाका भएर भारत जाने गरेको आशंक गरिँदै आएको छ ।

पछिल्लो समय मुस्ताङको कोराला नाकाबाट पनि भेपको चोरी पैठारी हुने गरेको छ । प्रहरीले गत पुसमा मुस्ताङबाट १९ हजार थान भेप बरामद गरेको थियो । गत पुसमा इमाडोलको गोदाममा करिब २५ करोडको ८६ हजार थान भेप जफत गरिएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise