२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

धनकुटामा साहित्य क्षेत्रमा नयाँ अभ्यास : चियासँग कविताको २०औं श्रृंखला सम्पन्न

shivam cement
२०८२ असार १३ गते २२:४८
Shares
धनकुटामा साहित्य क्षेत्रमा नयाँ अभ्यास : चियासँग कविताको २०औं श्रृंखला सम्पन्न

धनकुटा : पछिल्लो समय धनकुटामा साहित्यिक गतिविधि उल्लेखनीयरुपमा फस्टाउँदै गएको छ । स्थानीय साहित्यिक परिवेश समृद्ध बनाउने उद्देश्यले धनकुटामा सक्रिय साहित्यकर्मीहरू विभिन्न कार्यक्रममार्फत उत्साहित देखिएका छन् ।

साहित्यिक गतिविधिको क्रममा गत फागुन २ गतेदेखि सुरु भएको साप्ताहिक श्रृंखला ‘चियासँग कविता’ले युवादेखि विद्यार्थीसम्मको ध्यान खिच्न थालेको छ । पछिल्लो समय यो कार्यक्रम धनकुटामा परिचर्चा र चर्चाको केन्द्र बनेको छ । कार्यक्रममा नयाँ र पुराना सर्जकहरूको आकर्षण बढ्दै गएको छ भने विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सक्रिय सहभागिता पनि उल्लेखनीय रहँदै आएको छ ।

‘चियासँग कविता’को हालै सम्पन्न २०औं श्रृंखलासम्म आइपुग्दा झण्डै १ सय ७५ भन्दा बढी सिर्जनाहरू वाचन भइसकेका छन् । कार्यक्रमले धनकुटामा चार पुस्ताका स्रष्टाहरूबीच जम्काभेट गराएको छ । हजुरबुबादेखि नातिसम्मले एउटै मञ्चमा आ–आफ्ना सिर्जना वाचन गर्दै आएका छन्, साथै एक–आपसमा साहित्यिक छलफल समेत गर्दै आएका छन् ।

धनकुटाकै पहिलो सामुदायिक रेडियो ‘धनकुटा एफएम’को संयोजनमा सञ्चालन भइरहेको ‘चियासँग कविता’को २०औं श्रृंखला शुक्रबार सम्पन्न भएको हो । कार्यक्रममा दुई दर्जनभन्दा बढी नयाँ र पुराना सर्जकहरूले आ–आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए । कविहरूले सिर्जनामार्फत समाजको यथार्थ, राजनीतिक परिवेश र प्रेम–मायाका विषयहरूलाई प्रस्तुत गरेका थिए ।

२०औं श्रृंखलामा सर्जकहरू जेपी भुजेल, भीम राई, नेहा राई, रेखा क्षेत्री, गोपाल बराइली, सन्जय सन्तोषी राई, नरेन्द्र कस्चित, रमेशचन्द्र अधिकारी, दृष्टि श्रेष्ठ लगायतले आफ्ना कविता वाचन गरे। कार्यक्रममा १० वर्षीय रिजन लिम्बूले समेत आफ्ना सिर्जना सुनाएका थिए भने चन्द्रकला धमलाले गीत प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रम संयोजक गोपाल बराइलीका अनुसार ‘चियासँग कविता’ नयाँ र पुराना पुस्ताका सर्जकहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले सुरु गरिएको हो । उनले धनकुटाको साहित्यिक विकासमा कार्यक्रमले सशक्त योगदान गरिरहेको जानकारी दिए ।

सम्बन्धित खबर