अर्घाखाँची : मदन भण्डारी फाउन्डेशन अर्घाखाँचीको आयोजनामा ‘स्वर्गीय जननेता मदन भण्डारी र नेपालको लोकतान्त्रिक आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
फाउन्डेशनका संयोजक श्रीकृष्ण भुसालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषदका सदस्य जनार्दन खनाल प्रमुख अतिथि थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला र सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्था, बुद्धिजीवी, सञ्चारकर्मी, फाउन्डेशनका सदस्य तथा शुभेच्छुकको उल्लेख्य उपस्थिति रहेको संयोजक भुसालले जानकारी दिए ।
कार्यक्रममा फाउन्डेशनकी सदस्य मेनुका पौडेलले स्वागत मन्तव्य राखेकी थिइन् भने संयोजक भुसालले ‘जननेता मदन भण्डारी र नेपालको लोकतान्त्रिक आन्दोलन’ विषयमा अवधारणापत्र प्रस्तुत गरेका थिए ।
उक्त अवधारणापत्रमा नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य ठाकुर सौराग, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष रामबहादुर चौहान, राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष गोविन्द के.सी., क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सल्लाहकार बुद्धि गैरे, पाणिनी क्याम्पसका क्याम्पस प्रमुख बुद्धिराम भुसाल, पूर्व क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्री, कानून व्यवसायी जगन्नाथ भुसाल, राष्ट्रसेवक संघका अध्यक्ष कमलप्रसाद घिमिरे, चेम्बर अफ कमर्स अर्घाखाँचीका अध्यक्ष अशोक श्रेष्ठलगायतले टिप्पणी गरेका थिए।
कार्यक्रममा सहभागीहरूमध्येबाट प्रतिक्रियासहित सुझावहरू पनि संकलन गरिएको थियो ।
यस अवसरमा अर्घाखाँचीका जेष्ठ कम्युनिस्ट तथा संघर्षका योद्धा नेत्रप्रसाद ढुंगाना र लिलामणि ढुंगानासहित अनेरास्ववियुका नवनिर्वाचित केन्द्रीय सदस्य तथा जनजाति विद्यार्थी नेता विराज मुखियालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले उठाएका प्रश्न र जिज्ञासामा प्रमुख अतिथि खनाल र प्रमुख कोइरालाले जवाफ दिएका नेकपा एमालेका युवा नेता प्रेमनारायण गैरेले जानकारी दिए ।