२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

कानुनी शिक्षाले बदलिँदै किशोरकिशोरीको सोच

shivam cement
सुर्य प्रसाद भुसाल
२०८२ असार १६ गते २०:५४
कानुनी शिक्षाले बदलिँदै किशोरकिशोरीको सोच

प्यूठान : झिमरुक गाउँपालिकामा सञ्चालित कानुनी शिक्षा कार्यक्रमले किशोरकिशोरीहरूको सोचमा परिवर्तन आएको छ । 

गाउँपालिकाको अगुवाइमा १३ विद्यालयमा सञ्चालन गरिएको कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका १ हजार २ सयभन्दा बढी विद्यार्थी र शिक्षक सहभागी भएका छन् । कार्यक्रममार्फत बालविवाह, घरेलु हिंसा, न्यायिक प्रक्रिया, नागरिक अधिकार र कर्तव्यजस्ता विषयमा जानकारी दिइएको छ । 

बाल शिक्षा मावि मच्छीकी कक्षा १० की छात्रा सोनिया जिसीले कार्यक्रमले कानुनप्रति डर हटाएर अधिकार र सुरक्षाको हतियारका रूपमा बुझ्न मद्दत गरेको बताइन् । ‘पहिले कानुन भन्नेबित्तिकै डर लाग्थ्यो, अहिले समाज बदल्न कानुन बुझ्नुपर्छ भन्ने महसुस भएको छ,’उनले भनिन् । 

जनता माविका विद्यार्थी कमल भारतीले कानुनी ज्ञान पाएपछि गाउँमा बालविवाह रोक्न सकिने विश्वास जागेको बताए । ‘गाउँमा गएर आमाबुबालाई सम्झाउँदै हिँडेको छु,’उनले भने । 

गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलका अनुसार झिमरुकमा बालविवाहका घटना बढी हुने भएकाले विद्यालय–केन्द्रित कानुनी सचेतना अभियानलाई प्राथमिकतामा राखिएको हो । उनले भने, ‘कानुनी शिक्षा चेतनाको विकास हो, र चेतनाको विकास नै दीगो विकासको जग हो ।’

कार्यक्रममा सरकारी वकिल, प्रहरी अधिकृत, प्राध्यापक तथा कानुनी सल्लाहकारहरू प्रशिक्षकका रूपमा सहभागी थिए । सरकारी वकिल नरेन्द्र देवकोटाले विद्यार्थीमा सोचको उल्लेखनीय रूपले परिवर्तन आएको बताए ।

बलभद्र माविका प्राचार्य शेरबहादुर थापा र जनता माविका प्रधानाध्यापक विजय सागर गिरीले कार्यक्रम प्रभावकारी भएको र यसले शिक्षक, विद्यार्थी र अभिभावकमाझ सचेतना बढाएको उल्लेख गरे । 

सहभागी विद्यार्थीहरूलाई खाजाखर्च, डायरी र कलम वितरण गरिएको थियो। अधिकृत यामलाल पोखरेलका अनुसार, सकारात्मक प्रतिक्रिया पाएपछि कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिने योजना बनाइएको छ ।

झिमरुक–८ का वडाध्यक्ष तुलस बस्नेतले चेतनाको विकासलाई आगामी विकासको आधार बनाउने बताए । ‘सोच फेरिएपछि समाज फेरिन्छ,’ उनले भने, ‘सकारात्मक परिवर्तनप्रति आलोचना आउन सक्छ, तर हामी विकासमा प्रतिबद्ध छौँ ।’

ADV

सम्बन्धित खबर

Advertise