अर्घाखाँची : अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोपाल प्रसाद अर्यालले जिल्लामा शान्ति सुरक्षा, सुशासन, भ्रष्टाचार नियन्त्रण र मुस्कानसहितको सेवा प्रवाहलाई आफ्नो प्राथमिकता बनाउने प्रतिबद्धता जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा मंगलबार सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै प्रजिअ अर्यालले सबै सरोकारवालाको सहकार्य र समन्वयमा मात्रै शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सकिने बताए । ‘सबैको साथ र सहयोग रहे शान्ति सुरक्षा तुरुस्त–दुरुस्त बनाउनेछु,’ उनले भने ।
अर्घाखाँची जिल्लामा आएपछि दर्जनौं जिल्लामा गरेको कामहरुको अनुभवलाई सहि ढंगले प्रयोग गरी जिल्लाको समृद्धिमा योगदान दिने बताउँदै खुला सीमाना, पहाडी भौगोलिक चुनौती र सुरक्षासम्बन्धी संवेदनशीलतालाई ध्यानमा राखी निरन्तर निगरानी र पहल अघि बढाउने स्पष्ट पारे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले लागुऔषध नियन्त्रण, चोर निकासी, जनचेतनामूलक कार्यक्रम र सुरक्षा अवस्थाबारे प्रष्ट पार्दै प्रहरीको सक्रियताबारे जानकारी गराए ।
नेपाल पत्रकार महासंघ अर्घाखाँची अध्यक्ष गणेश खनालले प्रशासन र पत्रकारबीचको समन्वय आवश्यक रहेको उल्लेख गर्दै सूचना प्रवाहमा सहजता ल्याउन प्रजिअको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा पत्रकार र सरोकारवालाहरूले सार्वजनिक जग्गा हडप्ने प्रवृत्ति, खाचिकोटको चुनढुंगा, सुपादेउरालि मन्दिरको आर्थिक पारदर्शिता, ढुंगा–गिट्टीको चोरी निकासी, डढेलो नियन्त्रण, सीमासुरक्षा र सेवा प्रवाहमा देखिएका समस्याबारे प्रजिअ अर्यालको ध्यानाकर्षण गराएका थिए ।
प्रजिअ अर्यालले उठाइएका सबै विषयलाई गम्भीरतापूर्वक लिएर समाधानमुखी ढंगमा अघि बढ्ने प्रतिबद्धता जनाए ।