२०८२ असार २० गते शुक्रवार / Jul 04 , 2025 , Friday
२०८२ असार २० गते शुक्रवार
Ads

अर्घाखाँचीमा विद्यालय अनुगमनलाई तीव्रता

shivam cement
सुर्य प्रसाद भुसाल
२०८२ असार १९ गते २०:४८
अर्घाखाँचीमा विद्यालय अनुगमनलाई तीव्रता

अर्घाखाँची : शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीले  जिल्लाभित्र रहेका सामुदायिक विद्यालयहरुको अनुगमनलाई तिव्रता दिएको छ । इकाइले भूमिकास्थान नगरपालिका वडा नम्बर ४ मा रहेको अन्नपूर्ण माध्यमिक विद्यालय, धारापानी र वडा नम्बर २, ढाकाबाङको भगवती माध्यमिक विद्यालय, कोट मैदानको अनुगमन तथा निरीक्षण गरेको छ ।

अनुगमनका क्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख विष्णु बेल्बासेले भूमिकास्थान नगरपालिकाभित्र शतप्रतिशत विद्यार्थीलाई एसईई परीक्षामा सफल गराउन सफल अन्नपूर्ण माविलाई बधाई तथा शुभकामना दिएका थिए । 

विद्यालयकी सहायक प्रधानाध्यापक गोमा खड्काले शिक्षक, विद्यार्थी र अभिभावकको समन्वय र तीन महिना छात्रावास सञ्चालन गरिएको कारण यस्तो सफलता सम्भव भएको जानकारी दिइन् । उनले आगामी वर्षमा पनि शतप्रतिशत नतिजाको लक्ष्यसहित विद्यालय क्रियाशील रहेको बताइन् । 

त्यस्तै ढाकाबाङको भगवती माध्यमिक विद्यालयमा जनशक्ति, भौगोलिक विकटता र भौतिक पूर्वाधारको अभावका बाबजुद २०८१ सालको एसईई परीक्षामा ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरामणी खनालले कठिन परिस्थितिमा पनि शिक्षकहरूको मेहनतले यो सफलता सम्भव भएको बताए ।

विद्यालयका प्रधानाध्यापक विष्णु बेल्बासेले राहत दरबन्दी नहुँदा विद्यालय सञ्चालनमा समस्या भइरहेको उल्लेख गरे । साथै, आर्थिक अवस्था कमजोर हुँदा कक्षा ९ र १० सञ्चालन गर्न समेत कठिनाइ भएको बताए । उनले जनजाति र दलित समुदायका बालबालिका धेरै रहेका यस विद्यालयमा अभिभावकहरूको साथका कारण सफलता हासिल गर्न सकिएको जानकारी गराए ।

अनुगमनको क्रममा प्रमुख बेल्बासेले विद्यार्थीहरूको अनुशासनको प्रशंसा गर्दै अन्य विद्यालयहरूले पनि यस्तो अनुशासनको अनुकरण गर्न सके जिल्लाको शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव पर्ने बताए ।

अनुगमन टोलीमा भूमिकास्थान नगरपालिकाका शिक्षा शाखा प्रमुख टुकलाल सापकोटा, विजय माविका प्र.अ युवराज भुसाल, नुवाकोट माविका प्र.अ शालिग्राम भुसाल, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष रुद्रमणि भुसाललगायतको उपस्थिति थियो ।

अनुगमनको क्रममा विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूसँग सुझाव, समस्या र समाधानका उपायहरूबारे छलफल गरिएको थियो । दुई विद्यालयमध्ये ९० प्रतिशतभन्दा बढी विद्यार्थीको नियमित उपस्थितिले सकारात्मक संकेत दिएको अनुगमन टोलीले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise