२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

२८ असारको संयोग

ADV
दिवाकर अधिकारी
२०८१ असार २९ गते ०६:५५
२८ असारको संयोग

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । शुक्रबार राति राष्ट्रपति भवन शीतल निवास पुगेर दुई वा दुई भन्दा बढी दलको समर्थनमा बन्ने सरकारका लागि दाबी पेस गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

लगत्तै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् । ओलीले संघीय संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

संसद्का अन्य साना दलहरु जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसमेत कांग्रेस–एमाले गठबन्धन सरकारकै पक्षमा भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।

राष्ट्रपतिको आह्वानबमोजिम प्रधानमन्त्रीमा दाबी पेस गर्न एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवा शितलनिवास गएका थिए । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो । 

लगत्तै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा कानुनविद्हरुसँग छलफल गरेका थिए । संविधानको धारा ७६ (२) वा (३) मध्ये कुन उपधारा बमोजिम नयाँ सरकार गठन हुने भन्ने विषयमा बहसका बीच राष्ट्रपति पौडेलले संविधानविद्हरुसमेतको परामर्शमा संविधानको धारा ७६ (२) बमोजिमकै सरकार गठनका लागि आह्वान गरेका हुन् ।

संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

यस अनुसार ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् । तीन वर्ष अघि २०७८ साल असार २८ गते एमालेका अध्यक्ष ओली प्रधानमन्त्री पदबाट मुक्त भएका थिए । ठीक तीन वर्षपछि ओलीले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् । स्पष्ट बहुमत जुटाएकाले उनको सत्तारोहण निश्चित छ ।

तीन वर्ष अघि ओली पदमुक्त भएपछि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए । प्रतिनिधि सभा विघटन बदर गर्दै सर्वोच्च अदालतले ओली नेतृत्वको सरकारलाई परमादेशबाट हटाइदिएको थिया । तीन वर्ष अघि ओली पदमुक्त भएपछि प्रधानमन्त्री बनेका देउवा शुक्रबार ओलीका साथमा शीतल निवास पुगेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise