दोहा कतार : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको तेस्रो परिषद्(अन्तिम) भेला सम्पन्न भएको छ । संघको विधान २००३ को (दशौँ संशोधन २०२१)को परिच्छेद ६ को दफा १३ को उपदफा १३.३ मा व्यवस्था भए बमोजिम २०२३–२०२५ कार्यकालको तेस्रो परिषद् भेला प्रत्यक्ष र भर्चुअल जुम अनलाइनमार्फत सम्पन्न भएको हो ।
रोयल प्लाजाको एक हलबाट प्रत्यक्ष रूपमा सञ्चालित भेला संघका अध्यक्ष रमेश भट्टको सभाध्यक्षता तथा नेपाली राजदूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
परिषद् भेलाको उद्घाटनसहित सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले आफू नियोगमा नियुक्त भएर आएदेखि नै एनसीसी कतारको टिमले सामाजिक रूपमा प्रशंसनीय कार्यसम्पादन गरेको बताए । उनले श्रमिकका पक्षमा गरेको कार्यको प्रशंसा गर्दै परिषद् भेलाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
भेलामा पछिल्लो एक वर्षका विभिन्न गतिविधिहरू समेटिएको कार्यप्रगती संघका महासचिव रबिन मगरले पेस गरेका थिए भने कोषाध्यक्ष बुद्ध पाण्डेले २ लाख ३ हजार ९ रियाल आम्दानी गर्दै १ लाख ३६ हजार ९ सय ६८ रियाल खर्चँदै ६६ हजार ४१ रियाल बचत रहेको आयव्यय विवरण पेस गरेका थिए ।
पाण्डेले कुल रकममध्ये ५४ हजार ५ सय १४ नेपालमा बैंकमा मुद्दती खातामा रहेको भेलालाई जानकारी दिँदै संस्था सञ्चालनका लागि संघका अध्यक्ष भट्टसँग कतारी रियाल ५ हजार सापटी लिइएको र १२ हजार ५ सय ७१ रियाल विभिन्न कार्यक्रममार्फत उठ्न बाँकी रहेको भेलालाई जानकारी दिए भने भेलामा पेस भएका कार्यपत्र र आयव्यय विवरण पारित समेत भएका छन् ।
भेलामा आइसीसी तथा एनसीसीका विभिन्न पदाधिकारीहरू, कतारमा स्थापित विभिन्न वैचारिक संगठन प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिसहित परिषद् सदस्यहरूको उपस्थिति रहेको थियो । भेलामा विभिन्न वक्ताहरूले आफ्ना विचारहरू राख्दै एनसीसी कतारमा देखिएको फुटको चिरालाई चिर्न आवश्यक रहेको बताउँदै संयमित रहन समेत आग्रह गरेका थिए ।
भेलामा विधान संशोधन समितिका संयोजक विमल सुवेदीले संशोधित बुँदाहरु पेस गरेका थिए भने संशोधित विधान सर्वसम्मत अनुमोदन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले एनसीसी कतारका अध्यक्ष रमेश भट्टले बद्री केसीले नेतृत्व गरेको आइसीसीले निर्देशित गरे बमोजिम कार्य सम्पादन नगरेको भनी ३० जुनमा एक पत्र लेख्दै मान्यता फिर्ता लिँदै एनसीसी कतारका उपाध्यक्ष केशव कार्कीको संयोजनमा राष्ट्रिय महाधिवेशन समिति गठन गरेको पत्र बाहिरिएसँगै विवाद बढ्न थालेको हो ।
उक्त पत्रलाई एनसीसी कतारले एक प्रेस विज्ञप्ति जारी गर्दै अवैधानिक रूपमा गठित महाधिवेशन समिति पनि अवैधानिक रहेको व्याख्या गर्दै परिषद् सदस्य भ्रममा नपर्न आग्रह गरेको थियो । कतारको नेपाली समाज अन्योल र विवाद बनिरहेका बेला २३ मे मा स्थगित भएको अन्तिम परिषद् भेला शुक्रबार सम्पन्न गरेको हो ।
परिषद् भेलाबाट एनसीसी कतारका परिषद् सदस्यता शुल्क १५ रियाल मध्यबाट प्रत्येक एक परिषद् सदस्यको शुल्कको २० प्रतिशत सिँधै कोषमा जम्मा हुने गरी श्रमिक कल्याणकारी कोषको स्थापना गर्ने घोषणा गरिएको छ ।
एनसीसीले आइसीसीलाई परिषद् सदस्यता बापत बुझाउने शुल्क आइसीसीमा एकता नहुन्जेल भुक्तानी नगर्ने भएको छ ।
पुरस्कारको घोषणा
एनआरएनए एनसीसी कतारले हरेक कार्यकालमा प्रदान गर्ने पत्रकारिता पुरस्कार राम एकवाल राम, साहित्यिक पुरुषकार श्याम रानाभाट र खेलकुद पुरुषकार दिलीप कार्कीलाई प्रदान गर्ने प्रस्ताव भेलाले अनुमोदन गरेको छ ।
निर्वाचन समिति गठन
एनसीसी कतारको एघारौँ अधिवेशन सम्पन्न गर्न पूर्व आइसीसी सल्लाहकार तथा एनसीसी कतारका पूर्वअध्यक्ष नरेन्द्र भाटलाई निर्वाचन समितिको संयोजकका रूपमा सर्वसम्मत चयन गरिएको छ । पाँच सदस्यीय समितिको पूर्णता दिने सर्वाधिकार भाटलाई नै प्रदान गरिएको र समिति पूर्ण भएको जानकारी समितिलाई दिन समेत आग्रह गरिएको थियो ।
महाधिवेशनको मिति घोषणा
एनसीसी कतारले एकताको महाधिवेशनको घोषणा गर्दै शुक्रबार अर्थात् ४ जुलाई साँझ ७ बजेदेखि १८ जुलाई राति १० बजे सम्म परिषद् सदस्यता खुल्ला गर्ने प्रस्तावसहितको कार्यतालिका परिषद् भेलाले अनुमोदन गरेको छ ।
परिषद् सदस्यताको प्रारम्भिक नामावली प्रकाशन १८ जुलाई राति १० बजे गर्ने कार्यतालिका रहेको छ भने १९ जुलाई राति १० बजे सम्म सार्वजनिक परिषद् सदस्य उपर दाबी विरोधको समय दिइएको छ । २१ जुलाईका दिनमा अन्तिम परिषद् सदस्यताको नामावली प्रकाशित गर्ने र निर्वाचन समितिलाई हस्तान्तरण गर्नेछ भने निर्वाचन समितिले २५ जुलाईमा एकताको महाधिवेशन गर्ने कार्यतालीका पारित भएको छ ।
संघका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत मन्तव्य राखेको भेलाको समापन गर्दै सभाध्यक्ष भट्टले नेपाली समाजका अग्रजको आग्रहमा विगतमा परिषद् भेला एक महिनाका लागी सारिए पनी केही अमुख व्यक्तिले राजदूतलाई समेत विवाद छ भनी गलत कुराको ब्रिफिङ गरिदिएकोप्रति रोष प्रकट गरे । उनले राजदूतलाई श्रमिकका अभिभावक बन्न सुझाव दिँदै एनसीसीबाट फुटेर बाहिर गएका व्यक्तिहरूलाई एकताको महाधिवेशनमा सहभागी हुन आग्रह गरे ।