
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएका वरिष्ठ ग्यास्ट्रोएन्टेरोलोजिस्ट तथा हेपाटोलोजिस्ट डा. मोहन भुसाल पेट, आन्द्रा र कलेजोसम्बन्धी रोगको उपचारमा बिरामीको भरोसायोग्य चिकित्सकका रूपमा परिचित हुँदै गएका छन् । विशेषज्ञता, आधुनिक उपचार पद्धति र बिरामीप्रतिको सेवाभावका कारण उनी लुम्बिनी प्रदेशमा चर्चित युवा चिकित्सकका रूपमा स्थापित भएका हुन् ।
डा. भुसालको विशेषज्ञ नेतृत्वमा बुटवल–६ मा सञ्चालित ग्यास्ट्रो सेन्टर बुटवल प्रालिले पनि छोटो समयमै बिरामीको विश्वास जितेको छ । चार वर्षअघि लुम्बिनी प्रदेशमै पहिलोपटक अत्याधुनिक ‘फाइब्रोस्क्यान’ सेवा सुरु गरेको सेन्टरले पेट तथा कलेजो रोगको परीक्षण र उपचारमा विशेष सेवा दिँदै आएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट आन्तरिक चिकित्सामा एमडी गरेका डा. भुसालले चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्जबाट ग्यास्ट्रोएन्टेरोलोजी तथा हेपाटोलोजीमा डीएम गरेका छन् । उनी लामो समयदेखि पेट, आन्द्रा, कलेजो तथा प्यान्क्रियाजसम्बन्धी रोगको उपचारमा सक्रिय छन् ।
डा. भुसालका अनुसार कलेजो रोगलाई धेरैले सामान्य रूपमा लिने गरे पनि यो गम्भीर बन्दै जाँदा मात्र लक्षण देखिने समस्या हो । कलेजो ७० देखि ८० प्रतिशतसम्म बिग्रिँदासमेत सुरुवाती अवस्थामा स्पष्ट लक्षण नदेखिन सक्ने भएकाले धेरै बिरामी ढिलो गरी अस्पताल पुग्ने गरेको उनी बताउँछन् । समयमै परीक्षण नगर्दा फ्याटी लिभरको समस्या बढेर सिरोसिस तथा क्यान्सरसम्म पुग्न सक्ने जोखिम रहन्छ ।
फाइब्रोस्क्यानबाट सहज परीक्षण
ग्यास्ट्रो सेन्टरको प्रमुख विशेषतामध्ये फाइब्रोस्क्यान सेवा एक हो । यस प्रविधिबाट कलेजोको बायोप्सी नगरी केही मिनेटमै कलेजोमा बोसो जमेको अवस्था तथा कडापन परीक्षण गर्न सकिन्छ । फ्याटी लिभर, सिरोसिस, मदिराजन्य कलेजो रोग तथा हेपाटाइटिस बी र सीका बिरामीका लागि यो परीक्षण उपयोगी मानिन्छ ।
पछिल्लो समय मोटोपन, मधुमेह, उच्च कोलेस्ट्रोल, असन्तुलित खानपान र शारीरिक गतिविधिको कमीका कारण फ्याटी लिभरको समस्या बढ्दै गएको डा. भुसाल बताउँछन् ।
सेन्टरमा पेट तथा पाचन प्रणालीसम्बन्धी रोगको परीक्षणका लागि एन्डोस्कोपी र कोलोनोस्कोपी सेवा पनि उपलब्ध छ । लगातार पेट दुख्ने, ग्यास्ट्रिक हुने, खाना निल्न कठिनाइ हुने, दिसामा रगत देखिने, कब्जियत तथा आन्द्राको क्यान्सरको आशङ्का भएका बिरामीको परीक्षणमा यी सेवा उपयोगी छन् ।
त्यसैगरी भिडियो एक्स–रे, डप्लर स्क्यान, थाइराइड परीक्षण, स्तन परीक्षण, एनामोली स्क्यान र डीभीटी स्क्यानलगायत सेवा पनि सेन्टरमा सञ्चालनमा छन् ।
रूपन्देहीसहित कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, दाङ र बाँकेलगायत जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । यसअघि यस्ता विशेषज्ञ सेवा लिन काठमाडौं वा भारत जानुपर्ने कतिपय बिरामीले अहिले बुटवलमै परीक्षण तथा उपचारको सुविधा पाउन थालेका छन् ।
उपचारसँगै स्वास्थ्य सचेतनालाई पनि प्राथमिकता दिँदै आएको सेन्टरले नियमित स्वास्थ्य परीक्षण, सन्तुलित खानपान र शारीरिक व्यायामको महत्त्वबारे जानकारी दिँदै आएको छ ।
फास्टफुड, अत्यधिक तेलयुक्त खाना, राति अबेर खाने बानी र तनावपूर्ण जीवनशैलीका कारण युवामै पेट तथा पाचनसम्बन्धी समस्या बढिरहेको डा. भुसाल बताउँछन् । मदिरा तथा धुम्रपानबाट टाढा रहने, स्वस्थ खानपान अपनाउने र नियमित व्यायाम गर्ने बानीले यस्ता धेरै रोगको जोखिम कम गर्न सकिने उनको सुझाव छ ।