काठमाडौं : दक्षिण कोरियाले कागेश्वरी मनोहरा नगरपालिकालाई ६० लाख बराबरको २ वटा प्लास्टिक रिसाइक्लिङ मेसिन उपहार स्वरूप दिने भएको छ ।
कोरियाले प्लास्टिकका बोतलहरू (विशेषगरी पानीको बोतल, जुसको बोतल) हरुलाई व्यवस्थापन गर्ने नेपाली ३० लाख रुपियाँका २ वटा मेसिनहरू उपहार स्वरूप प्रदान गर्ने भएको हो ।
कोरिया फेसन डिजाइन व्यावसायिक तालिम केन्द्र तथा कोरिया रोजगार सहयोग केन्द्र अन्तर्राष्ट्रिय अध्यक्ष, प्रतिष्ठित प्राध्यापक योसेप काङ र सियोल जाङसिन विश्वविद्यालय विदेशी सहयोग एजेन्सीका प्रोफेसर सुङसुक चोले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्लास्टिक रिसाइक्लिंगले प्रदूषण कम गर्न र स्रोतहरूको संरक्षण गर्न मद्दत गर्ने, प्लास्टिकलाई फ्याँक्नुको सट्टा पुनः प्रयोग गरेर पैसा बचत गर्न सकिने, पुनर्चक्रणले बालबालिकालाई वातावरण संरक्षणको महत्त्व सिकाउन सहयोग पुग्ने बताइएको छ ।
यस्तै कार्यक्रममा प्रतिष्ठित प्राध्यापक काङ र सियोल जाङसिन विश्वविद्यालयका प्रोफेसर चोले कागेश्वरी मनोहरा नगरपालिकाले सिफारिस गरेको खण्डमा नेपाली विद्यार्थीहरूलाई आफूहरूको विश्वविद्यालयमा छात्रवृत्तिमा पढाउने बताए ।