अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेलले नगरपालिका र त्यसमा संलग्न जनप्रतिनिधि तथा कर्मचारीको बदनाम गर्न नियोजित रुपमा सामाजिक सञ्जालमार्फत अफवाह फैलाइएको आरोप लगाएका छन् । उनले भौगोलिक रूपमा नेपालको सबैभन्दा ठूलो नगरपालिकामध्ये एक शितगंगामा, सीमित जनशक्ति र स्रोतसाधनबीच पनि उल्लेखनीय विकास निर्माण कार्य भइरहेको दाबी गर्दै केही तस्बिरहरू प्रयोग गरी नगरपालिकाको छवि बिगार्ने प्रयास भएको बताए । नगरप्रमुख पौडेलका अनुसार सामाजिक सञ्जालमा भाइरल भएको पिच गरिएको सडक उक्किएको तस्बिर शितगंगाको कुनै पनि योजनासँग सम्बन्धित छैन ।
नगरपालिकाका योजना अधिकृत नुमलाल खनालले शनिबारको दिनसमेत फिल्ड अनुगमनमा खटिँदा त्यो तस्बिर बाहिर आएको जानकारी पाएको बताए । ‘हामी बिहान ७ बजेदेखि राति ८ बजेसम्म निरन्तर योजनाहरूमा खटिएका छौं । तर, जब मेहनतको प्रतिफल देखिन थालेको छ, त्यहीबेला गलत सन्देश बाहिर आउँदा दुःख लाग्दो छ,’ खनालले भने ।
उनका अनुसार नगरपालिकाले स्थानीय पूर्वाधार विकासमा दशवर्षे आवधिक योजना अनुसार वार्षिक बजेटमार्फत योजनाहरू कार्यान्वयन गर्दै आएको छ । १४ वटै वडाबाट सम्झौता प्रणालीअनुसार योजना कार्यान्वयन गरी ४ सयभन्दा बढी योजना सम्पन्न गरिसकिएको र भौतिक तथा वित्तीय प्रगति ९० प्रतिशतभन्दा माथि पुगेको छ ।
नगरपालिकाले १०९ वटा सामुदायिक विद्यालय, २ वटा सामुदायिक सिकाइ केन्द्र तथा ३७ वटा स्वास्थ्य संस्थामार्फत शिक्षा तथा स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्दै आएको जनाइएको छ । साथै, १४ वटा विषयगत शाखाहरूले आ–आफ्नो कार्यक्षेत्रमा नीति निर्माणदेखि कार्यान्वयनसम्मको जिम्मेवारी सम्हालिरहेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर जिसीले नगरको भूगोलले कार्यान्वयनमा केही चुनौती पेस गरे पनि समन्वय, अनुगमन र सहकार्यका माध्यमबाट ती चुनौतीहरू पार गर्न सकिएको बताए ।
वडा नं. ११ का अध्यक्ष नवराज भुसालका अनुसार, कामको गुणस्तरमा विशेष ध्यान दिइएको छ । प्राविधिक कर्मचारीलाई विशेष सचेत गराइएको छ भने योजनाको हरेक चरणमा अनुगमन जारी राखिएको छ ।
नगरप्रवक्ता दामोदर न्यौपानेले कामको समीक्षा नगरी सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना फैलिएर जनप्रतिनिधि र कर्मचारीको मनोबल गिराउने काम गर्नु दुर्भाग्यपूर्ण भएको बताए ।
स्थानीय नारायण सिंह बेल्वासेले भने, ‘नगरपालिकाले हालका वर्षहरूमा विकासका क्षेत्रमा ठूलो फड्को मारेको छ । सेवाप्रवाह सरल, प्रभावकारी र जनमुखी भएको छ ।’ नगरपालिकाको समग्र कार्यप्रणाली योजना अधिकृत नुमलाल खनालको दक्ष नेतृत्वमा अघि बढिरहेको जनाइएको छ । खनाल पूर्व जिल्ला विकास समितिमा कार्यरत लोकप्रिय कर्मचारी हुन्, जसले स्थानीय तहमा समायोजन भएपछि योजनाका कार्यान्वयनमा निरन्तरता दिएका छन् ।